भारतको ओडिसा राज्यको भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा नेपाली विद्यार्थीको शव फेला परेको घटना सार्वजनिक भएको १२ घण्टासम्म पनि नेपाल सरकारले आफ्नो धारणा सार्वजनिक गरेको छैन ।
तीन महिनाको अवधिमा यो क्याम्पसमा दोस्री नेपाली छात्राले ज्यान गुमाएकी छिन् । यसअघि बुटवलकी प्रकृति लम्सालको मृत्यु हुँदा नेपाली विद्यार्थीसमेत असुरक्षित भएर घर फर्किने अवस्था बनेको थियो । अहिले फेरि वीरगञ्जकी प्रिसा साहको शव सो क्याम्पसको होस्टलमा भेटिएको छ । यसरी नेपाली विद्यार्थी लगातार असुरक्षित भइरहेको केआईआईटीबारे नेपाल सरकारले आफ्नो धारणा सार्वजनिक गर्नुपर्नेमा चुप लागेर बसेको छ ।
घटना भारतीय सञ्चार माध्यमहरूले बिहीबार बेलुका सार्वजनिक गरेका थिए । तर, शुक्रबार बिहान परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले ओडिसा सरकारको एक विभागले जारी गरेको विज्ञप्ति सामाजिक सञ्जालमा शेयर गरी घटनाप्रति दुःख व्यक्त गरेकी छिन् । र उनले दूतावासमार्फत छानबिनका लागि पहल भइरहेको बताएकी छिन् ।
बुटवलकी प्रकृति लम्सालको मृत्युपछि सो क्याम्पसमा अध्ययनरत नेपाली विद्यार्थीहरूले निष्पक्ष छानबिन दोषीमाथि कारबाहीको माग गर्दा क्याम्पस प्रशासनले नेपाली विद्यार्थीलाई निकाली दिएको थियो । र विद्यार्थीलाई रेल स्टेसनमा ल्याएर छोडेको थियो । पछि नेपाल सरकारको व्यापक दबाब र भारतमै भएको विरोधपछि केआईआईटीका केही कर्मचारीमाथि कारबाही भयो भने एक भारतीय विद्यार्थी पनि पक्राउ परे । तर फेरि पनि नेपाली विद्यार्थी सो क्याम्पसमा सुरक्षित नरहेको पछिल्लो घटनाले देखिएको छ ।
Facebook Comment
Comment