जलवाष्पयुक्त हावाको प्रभावले यी प्रदेशमा हुनेछ वर्षा

नेपालभ्युज

जलवाष्पयुक्त हावाको प्रभावले यी प्रदेशमा हुनेछ वर्षा
सांकेतिक तश्वीर

काठमाडौं । बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको प्रभावले आज  कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा वर्षा हुने सम्भावना छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायु र स्थानीय वायुसँगै बङ्गालको खाडीबाट भित्रिएको हावाको प्रभाव देखिएको छ।

यस प्रभावका कारण सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि सामान्य बदली रहेको छ भने बाँकी भूभागमा सामान्य बदली छ। कोशी, बागमती, लुम्बिनी र कर्णाली प्रदेशका एक-दुई स्थानमा अहिले पनि चट्याङसहित हल्का वर्षा भइरहेको छ।

आज दिउँसो कोशी, मधेस, बागमती र गण्डकी प्रदेशलगायत देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ। यी प्रदेशका थोरै स्थानहरूमा र बाँकी भूभागका एक-दुई स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली भेगका थोरै ठाउँमा हल्का हिमपातको समेत पूर्वानुमान गरिएको छ। यो अवस्था रातिसम्म जारी रहने  महाशाखाले जनाएको छ।

महाशाखाले कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका पहाडी क्षेत्रका केही स्थान र बाँकी भूभागका एक-दुई स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेकाले दैनिक जीवन, कृषि, स्वास्थ्य, सडक र हवाई यातायातमा समेत असर पर्न सक्ने भन्दै आवश्यक सावधानी अपनाउन अनुरोध गरेको छ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved