घाइते पत्रकार सविना कार्की भन्छिन् – जानीजानी हानेको त हैन होला

नेपालभ्युज

घाइते पत्रकार सविना कार्की भन्छिन् – जानीजानी हानेको त हैन होला

काठमाडौं । शिक्षक आन्दोलनको रिपोर्टिङका क्रममा घाइते भएकी पत्रकार सविना कार्कीको तिलगंगा आँखा अस्पतालमा उपचार भइरहेको छ ।

उनको आँखाको भित्रैसम्म चोट लागेकोले उपचारमा संलग्न चिकित्सकले जानकारी दिए ।

आइतबार नयाँ बानेश्वरमा प्रहरी र आन्दोलनरत शिक्षकबीच झडप भएको थियो। त्यसक्रममा प्रहरीले आन्दोलनकारीलाई लक्षित गर्दै हानेको पानीको फोहोरा पत्रकार कार्कीको आँखामा लागेको थियो।

शिक्षकहरु निषेधित क्षेत्र तोड्नलाई आक्रोशित भएपछि प्रहरीले एक्कासी पानीको फोहोरा हान्न थालेको घाइते कार्की बताउँछिन् ।

अस्पतालको बेडबाट उनले भनिन्, “हामी १२ बजे बानेश्वर पुग्यौं । लगभग जुलुस निषेधित क्षेत्रमा आइपुग्न लागेको थियो । निषेधित क्षेत्र तोड्नलाई नाराजुलुस गर्दै उत्रिनुभयो । निषेधित क्षेत्र तोड्नलाई आक्रोशित भएपछि एक्कासी प्रहरीले पानीको फोहोरा हान्न थाल्यो ।”

मोबाइलबाट भिडिओ खिच्दै गर्दा पानीको फोहोराले लागेको उनले सुनाइन् । “पानीको फोहोरा हान्दा म मोबाइल झिकेर भिडियो खिच्न थाले । क्यामेरा अन गर्न पाउँदा नपाउँदै म लेफ साइडमा थिएँ । पानीको फोहोरा एक्कासी आएर झयाप्पै अनुहारमा लाग्यो । केही देखिन । दिमाग पूरै ब्ल्याक भयो । धुलमुल भयो । चिच्याएँ… आत्तिए,” कार्की भन्छिन् ।

प्रहरीले आफूलाई बोकेर सुरुमा सिभिल अस्पताल लगेको उनी बताउँछिन् । “प्रहरीले बोकेर मलाई सिभिल अस्पताल लैजानुभयो । पुलिसले बोकेर लगेर गाडीमा चढाइसकेपछि मैले पत्रकार हो भने । उहाँहरु पनि आत्तिनुभएको थियो…। पानीको फोहोरा आयो मलाई मात्र लाग्यो । मिस्टेकली लागेको होला । जानीजानी हानेको त हैन होला । म छेउमा थिएँ,” कार्कीले भनिन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved