चिकित्सक सङ्घले घोषणा गर्‍यो थप आन्दोलन, शुक्रबार देशभरका स्वास्थ्य संस्था बन्द गर्ने  

नेपालभ्युज

चिकित्सक सङ्घले घोषणा गर्‍यो थप आन्दोलन, शुक्रबार देशभरका स्वास्थ्य संस्था बन्द गर्ने  

काठमाडौं । आवासीय चिकित्सकहरूलाई सरकारी आठौं तह सरह निर्वाह भत्ता प्रदान गर्ने निर्णय कार्यान्वयन नभएको भन्दै नेपाल चिकित्सक सङ्घ (एनएमए) ले थप आन्दोलनका कार्यक्रम घोषणा गरेको छ। सङ्घले  भोलि शुक्रबार देशभरका सरकारी अस्पताल, प्रतिष्ठान, मेडिकल कलेज, क्लिनिक लगायत सम्पूर्ण स्वास्थ्य संस्थाहरू बन्द गरेर आन्दोलनमा ऐक्यबद्धता जनाउन आह्वान गरेको छ।

बिहीबार काठमाडौंको माइतीघर मण्डलामा आन्दोलनरत चिकित्सक र स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप पौडेलबीच भएको वार्ता निष्कर्षविहीन भएपछि सङ्घले थप आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो। सङ्घले  केन्द्रमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय घेराउ र जिल्ला प्रशासन कार्यालय घेराउलाई पनि निरन्तरता दिने जनाएको छ।

यसअघि सङ्घले २४ घण्टाभित्र आफ्ना मागहरू सम्बोधन नभए वैशाख १२ गतेदेखि देशभर आकस्मिक र सघन उपचार सेवा बाहेक सम्पूर्ण स्वास्थ्य सेवा ठप्प पार्ने चेतावनी दिएको थियो।

चिकित्सा शिक्षा आयोगले गत माघ २५ गते निजी मेडिकल कलेजमा अध्ययनरत आवासीय चिकित्सकहरूलाई सरकारी आठौं तह सरह ४८ हजार रुपैयाँ निर्वाह भत्ता लगायतका सेवा-सुविधा उपलब्ध गराउनुपर्ने निर्णय गरेको थियो। तर, निजी मेडिकल कलेज सञ्चालकहरूले दुई महिनाभन्दा बढी समय बितिसक्दा पनि उक्त निर्णय कार्यान्वयन नगरेको चिकित्सक सङ्घको आरोप छ।

सरकारले सुनिश्चित गरेको निर्वाह भत्ता कार्यान्वयनको माग गर्दै आवासीय चिकित्सकहरू तीन हप्तादेखि निरन्तर सडकमा उत्रिएर आन्दोलन गरिरहेका छन्। चिकित्सक सङ्घको  पछिल्लो घोषणाले देशभरको स्वास्थ्य सेवा थप प्रभावित हुने देखिएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved