आवासीय चिकित्सकको आन्दोलनप्रति रास्वपाको गम्भीर ध्यानाकर्षण, माग पूरा गर्न आग्रह

नेपालभ्युज

आवासीय चिकित्सकको आन्दोलनप्रति रास्वपाको गम्भीर ध्यानाकर्षण, माग पूरा गर्न आग्रह
रास्वपाको केन्द्रीय कार्यालय, च:मती वनस्थली ।

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले निजी मेडिकल कलेजका आवासीय चिकित्सकहरूले लामो समयदेखि गर्दै आएको आन्दोलनप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। सम्मानजनक निर्वाह भत्ता र न्यायोचित ड्युटी आवरको माग गर्दै आन्दोलनरत चिकित्सकहरूको समस्याप्रति राज्यले देखाएको उदासिनताले नागरिकको स्वास्थ्य सेवा पाउने अधिकार प्रभावित भएको भन्दै रास्वपाले चिन्ता व्यक्त गरेको छ।

रास्वपाकी केन्द्रीय स्वास्थ्य तथा जनसंख्या विभाग प्रमुख डा. तोसिमा कार्कीले बिहीबार जारी गरेको विज्ञप्तिमा सबै सरकारी तथा निजी मेडिकल कलेजका आवासीय चिकित्सकहरू (एम.डि./एम.एस./एम.डि.एस) को निर्वाह भत्ता समान रूपमा आठौं तहको चिकित्सकसरह रु. ४८,७३७ कायम गर्न माग गरिएको छ। चिकित्सा शिक्षा आयोगको १६ औं बैठकले गरेको यो निर्णय कार्यान्वयन गर्न र आवासीय चिकित्सकहरूको मागलाई समय सापेक्ष र सामाजिक न्यायको सिद्धान्त अनुसार तत्काल पूरा गर्न रास्वपाले सरकारलाई जोडदार आग्रह गरेको छ।

विज्ञप्तिमा भनिएको छ, ‘नेपालको स्वास्थ्य सेवामा महत्त्वपूर्ण भूमिका खेलिरहनु भएका निजी मेडिकल कलेजका आवासीय चिकित्सकहरू विगत लामो समयदेखि सम्मानजनक निर्वाह भत्ता र न्यायोचित ड्युटी आवरको माग गरी आन्दोलनरत रहेको स्थितिले आम नागरिकको स्वास्थ्य सेवा पाउने अधिकार समेत प्रभावित भएको स्थिति र यसप्रति राज्यले देखाएको उदासिनताप्रति राष्ट्रिय स्वतन्त्र पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ।’

रास्वपाले चिकित्सा शिक्षा आयोगको निर्णय कार्यान्वयन गर्दै आवासीय चिकित्सकहरूको जायज मागलाई सम्बोधन गर्न सरकारलाई थप जिम्मेवार बन्न आग्रह गरेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved