भुटानी शरणार्थी मुद्दामा सर्वोच्च : अमेरिका जानुअघिको शिविरमा राख्नू, ६० दिनभित्र अनुसन्धान सक्नू

नेपालभ्युज

भुटानी शरणार्थी मुद्दामा सर्वोच्च : अमेरिका जानुअघिको शिविरमा राख्नू, ६० दिनभित्र अनुसन्धान सक्नू

काठमाडौं । अमेरिकाबाट डिपोर्ट भएर नेपाल आएका चार जना भुटानी शरणार्थीलाई अमेरिका जानु अघिको शरणार्थी शिविरमा राख्न सर्वोच्च अदालतले आदेश दिएको छ ।

बिहीबार बन्दीप्रत्यक्षीकरण रिटमाथि सर्वोच्च न्यायाधीशद्वय बालकृष्ण ढकाल र नित्यानन्द पाण्डेयको संयुक्त इजलासले आङ्शिक रिट जारी गर्दै शिविरमा राख्न आदेश दिएको सर्वोच्चका प्रवक्ता अच्युत कुईंकेलले बताए ।

शिविरमा राख्ने आदेशसँगै अध्यागमन कार्यालयलाई ६० दिनभित्र अनुसन्धान सक्नसमेत सर्वोच्चले भनेको छ ।

गएको बिहीबार सर्वोच्चका न्यायाधीश न्यायाधीश हरिप्रसाद फुयालको इजलासले उनीहरूलाई देश निकाला नगर्न अन्तरिम आदेशसँगै एक हप्ताभित्र अदालतमा उपस्थित गराउन आदेश दिएको थियो ।

अमेरिकाले डिपोर्ट गरेका आशिष सुवेदी, रोशन तामाङ र सन्तोष दर्जी चैत १६ गतेदेखि र अशोक गुरुङ चैत १९ गतेदेखि झापामा अध्यागमन कार्यालयको हिरासतमा छन् । यो आदेशसँगै अब उनीहरुलाई शरणार्थी शिविरमा राखिने छ ।

शरणार्थीहरूलाई थुनामुक्त गराउन हिरासतमा रहेका आशिसका बुवा नारायणप्रसाद सुवेदीले ३ वैशाखमा बन्दीप्रत्यक्षीकरण रिट दर्ता गराएका थिए । भुटानी शरणार्थीको रुपमा नेपालमा रहेका नारायणप्रसाद बेलडाँगी शरणार्थी शिविरमा रहेका छन् ।

पक्राउ परेका चार जनालाई गएको ११ चैतमा अध्यागमन कार्यालयले देश निकाला गर्ने निर्णय गरेको थियो । अमेरिकाले डिपोर्ट गरेर भुटान पुर्‍याएका १२ जना शरणार्थीलाई भुटानले नेपालतिरै पठाइदिएको थियो । कागजात खोसेर भुटानले नेपाल पठाएका उनीहरू अवैध रूपमा नेपाल प्रवेश गरेको अभियोगमा रहेका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved