स्थानीय तह निर्वाचनमा विगतको दाँजाेमा खर्च बढ्छ : प्रवक्ता पौडेल
नेपालभ्युज
काठमाडौं । आगामी स्थानीय तहको निर्वाचनमा विगतको तुलनामा खर्च बढ्ने निर्वाचन आयोगले जनाएको छ। मंगलवार न्यूज एजेन्सी नेपालसँग कुरा गर्दै निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले विगतको निर्वाचनको तुलनामा आसन्न स्थानीय तहको निर्वाचनमा खर्च बढ्ने बताएका हुन्।
सरकारले ३० वैशाख २०७९ मा स्थानीय तह निर्वाचनको मिति तोकिसकेको छ। निर्वाचन प्रयोजनका लागि १२० दिन पाउनुपर्नेमा अब केवल ९०–९५ दिन मात्रै आयोगसँग भएकाले सबै कामहरु फाष्ट ट्रयाकबाट गर्नुपर्दा खर्च बढ्ने आयोगका प्रवक्ता शर्माले बताए।
‘‘हामीले १२० दिन समय प्राप्त गर्नुपर्नेमा ९०–९५ दिनको समय प्राप्त भएको छ। जो, निर्वाचनका लागि आवश्यक पर्ने समयको २५ प्रतिशत जति समय कटौती भएको अवस्था हो। यसले गर्दा हामीले कतिपय कामहरु फाष्ट ट्रयाकमा गर्नुपर्ने अवस्था छ। यसले गर्दा केही प्रतिस्पर्धाहरु, लजिस्टिकहरु प्रतिस्पर्धाहरु लिमिटेड हुनसक्ने अवस्थाहरु छन्। ३० दिनको म्याद दिनुपर्ने ठाउँमा निर्वाचन आयोग ऐनको दफा प्रयोग गरेर १५ दिन, २० दिन अथवा १० दिनको समय दिएर प्रतिस्पर्धा गराउनुपर्ने, त्यसले गर्दा हामीले जुन मुल्यमा हामीले प्राप्त गर्नुपर्ने हो त्यो भन्दा बढी पनि हुनसक्ने अवस्था छ,’’ उनले भने,‘‘टाइम प्रेसर भएको कारणले फाष्टट्रयाकमा गर्नु पर्दाखेरी खर्चहरु बढ्छन्। एक त प्रक्युरमेन्टमा पनि यथेष्ट प्रतिस्पर्धा नहुन सक्छ। यथेष्ट प्रतिस्पर्धा नभइसकेपछि मुल्य उच्च हुने सम्भावना छ। त्यस्तै कर्मचारीहरु अहिले निर्वाचन आयोगसँग अथवा जिल्ला निर्वाचन कार्यालयसँग भएका कर्मचारीले नपुगेर बाहिरबाट कर्मचारीहरु ल्याउनुपर्ने हुनसक्छ। बाहिरबाट कर्मचारी ल्याउँदाखेरी उहाँहरुलाई त्यसका लागि निर्वाचन एलान्सेजहरु छुट्टै दिनुपर्ने हुनसक्छ। यसले गर्दा निश्चित रुपमा १२० दिनमा गर्दाखेरी लाग्ने कस्ट भन्दा अहिले दिइएको ९०, ९५ दिनमा निर्वाचन गराउनु पर्दाखेरी केही कस्टहरु बढ्ने देखिन्छ।’’
Facebook Comment
Comment