काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपमेयर सुनीता डङ्गोलले महानगरपालिकाले सञ्चालन गरेको मेलमिलाप संयन्त्र युरोपेली देशका लागि नौलो र अनुकरणीय बनेको बताएकी छिन् ।
उनले बेल्जियम भ्रमणबाट स्वदेश फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विशिष्ट कक्षमा भ्रमणका उपलब्धिका विषयमा बोल्दै महानगरले प्रयोग गरेको विवाद समाधानको अभ्यास युरोपियन देशभन्दा राम्रो भएको प्रतिक्रिया पाएको बताएकी हुन् ।
युरोपियन युनियनको निमन्त्रणामा चैत २३ गते बेल्जियम गएकी डङ्गोलले सहरी विकास योजना, न्यायिक प्रणाली र सांस्कृतिक सम्पदासम्बन्धी बैठक, छलफल, भेटघाट र अवलोकन भ्रमण गरेकी छन् ।
यस क्रममा उनले स्थानीय सरकारसँग यी क्षेत्रको असल अभ्यास र अनुभव आदानप्रदान गरिएको जानकारी पनि दिइन् । नेपालबाट विभिन्न समयमा चोरी भएर बेल्जियम पुगेका सामग्री फिर्ता गराउने विषयमा उपप्रमुख डङ्गोलले बेल्जियमस्थित नेपाली दूतावाससँग छलफलसमेत गरेकी छन् ।
इटुम्बहाल चन्द्रकेश महाविहारबाट चोरी भएको १२ औँ शताब्दीको टुँडाल, पशुपति रुद्र गाडेश्वरबाट हराएको लाकुलिस/पर्शुरामको मूर्ति र राष्ट्रिय सङ्ग्रहालयबाट हराएको ११औँ शताब्दीको प्राचीन ग्रन्थ शिवधर्मोत्तर शास्त्र गाथा चित्र फिर्ता गराउने विषयमा कुराकानी भएको उनले जानकारी दिइन् ।
उनले अन्तर्राष्ट्रिय सम्बन्ध सचिवालयलाई दूतावाससँग समन्वय गरेर सामग्री फिर्ता गराउने प्रक्रियालाई तत्काल टुङ्गोमा पुर्याउनसमेत आग्रह गरिन् ।
Facebook Comment
Comment