काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आफ्ना शीर्ष नेताहरूको गिरफ्तारीको कडा विरोध गर्दै तत्काल रिहाको माग गरेको छ ।
सिंहदरबारस्थित सङ्घीय संसद् सचिवालयतर्फ जान लागेका बेलामा अध्यक्ष राजेन्द्र लिङ्देन, वरिष्ठ नेता बुद्धिमान तामाङ, प्रवक्ता ज्ञानेन्द्र शाहीलगायत नेताहरूलाई प्रहरीले बिनाकारण पक्राउ गरेको भन्दै राप्रपाले आकस्मिक बैठक बोलाएर कडा आपत्ति जनाएको हो ।
राप्रपाले शान्तिपूर्ण तरिकाले कार्यक्रम गर्न लाग्दा नेताहरूलाई गिरफ्तार गर्नु सरकारको निरङ्कुश र अधिनायकवादी चरित्रको पुष्टि भएको आरोप लगाएको छ । पार्टीका युवा मोर्चा अध्यक्ष केशवराज कँडेल, उपाध्यक्ष सन्दीप क्षेत्री, सङ्गठन विभाग प्रमुख अमर थापालगायत अन्य कार्यकर्ता पनि पक्राउ परेका छन् ।
जारी विज्ञप्तिमा भनिएको छ, “शान्तिपूर्ण ढङ्गमा कार्यक्रम गर्न लाग्दा नेताहरूको गिरफ्तारी हुनुपूर्ण रूपमा अलोकतान्त्रिक कार्य हो । यो घटनाको पार्टी घोर विरोध गर्दछ र सबै गिरफ्तार नेताहरूको अविलम्ब रिहाको माग गर्दछ ।”
राप्रपाले संविधानले प्रदत्त अभिव्यक्ति स्वतन्त्रता र राजनीतिक अधिकारमाथि अंकुश लगाउने सरकारको प्रयास स्वीकार्य नहुने चेतावनी दिएको छ । पार्टीले यस्तो प्रवृत्तिको प्रतिकार गर्दै अघि बढ्ने उल्लेख गर्दै हिन्दू राष्ट्र र राजसंस्थाको पुनःस्थापना लगायतका एजेन्डामा अब अझ दृढतापूर्वक संघर्ष गर्ने घोषणा गरेको छ ।
Facebook Comment
Comment