काठमाडौं । गभर्नरको दौडका लागि राष्ट्र बैङ्कको कार्यकारी निर्देशकबाट राजीनामा दिएका डा. गुणाकर भट्टसमेतलाई विपक्षी बनाएर सर्वोच्च अदालतमा दायर गरिएको निवेदन ‘हेर्न नभ्याइने’मा परेको छ ।
राष्ट्र बैङ्कको कार्यकारी निर्देशकबाट राजीनामा दिएकै आधारमा उनलाई विपक्षी बनाएर पूरक निवेदन दर्ता गरिएको थियो । उक्त निवेदनमा सर्वोच्चले अल्पकालीन अन्तरिम आदेशसमेत जारी गरेर आइतबार अन्तरिम आदेश प्रयोजनका लागि पेसी तोकेको थियो ।
सरकारले गुणाकर भट्टलाई गभर्नर नियुक्त गर्न लागेको भन्दै अधिवक्ता विशाल थापाले रोकी पाऊँ ‘प्रतिषेध मिश्रित परमादेश’ माग गरी शुक्रबार पूरक निवेदन पेस गरेका थिए ।
तर, शुक्रबार गभर्नरमा नियुक्ति हुने चर्चासँगै भट्टको राजीनामा आएपछि उनीविरुद्ध पूरक निवेदन दर्ता भएको थियो । उक्त मुद्दा आइतबार सर्वोच्चका न्यायाधीशद्वय हरिप्रसाद फुयाल र नित्यानन्द पाण्डेयको इजलासको ३७औं नम्बरमा परेको थियो ।
Facebook Comment
Comment