निषेधित क्षेत्र तोड्ने राप्रपाको तयारी, सरकारको चेतावनी– तोडे कारबाही हुन्छ

नेपालभ्युज

निषेधित क्षेत्र तोड्ने राप्रपाको तयारी, सरकारको चेतावनी– तोडे कारबाही हुन्छ
फाइल तस्वीर

काठमाडौं । राजसंस्था पक्षधर दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आज (आइतबार) काठमाडौंको बिजुलीबजारमा विरोध प्रदर्शन गर्दैछ । सामूहिक गिरफ्तारी दिँदै आन्दोलनलाई थप सशक्त बनाउने रणनीति लिएको राप्रपाले निषेधित क्षेत्र तोड्ने तयारी गरेको हो ।

राप्रपाका प्रवक्ता मोहनकुमार श्रेष्ठले आजको प्रदर्शनमा पार्टी अध्यक्ष राजेन्द्र लिङ्देन पनि सहभागी हुने जानकारी दिएका छन् । प्रदर्शन मध्यान्ह १२ बजेदेखि सुरु हुनेछ ।

बिहीबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले आन्दोलनका कार्यक्रम घोषणा गर्दै सामूहिक गिरफ्तारी दिने निर्णय गरेको थियो। राप्रपाले वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवलशमशेर जबरासहित तीनकुने घटनामा पक्राउ परेकाहरूको रिहाइको माग गर्दै चरणबद्ध आन्दोलन गरिरहेको छ ।

तीनकुने घटनामा मिश्र र जबरा पक्राउ परेको भोलिपल्ट, चैत १६ गतेदेखि राप्रपाले देशभर आन्दोलनका कार्यक्रमहरू गरिरहेको छ । चैत २६ गते बल्खुमा सभा गरेर राप्रपाले आफ्ना नेताहरूको रिहाइ र उक्त घटनाको छानबिन गर्न आयोग गठन नगरे थप सशक्त आन्दोलन गर्ने चेतावनी दिएको थियो ।

केही दिनको मौनतापछि राप्रपाले दोस्रो चरणको आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ । दोस्रो चरणको आन्दोलनको पहिलो दिनमै निषेधित क्षेत्र तोड्ने कार्यक्रम राखिएको छ ।

आज पार्टीका नेता–कार्यकर्ताले काठमाडौंका तीन ठाउँमा प्रदर्शन गर्ने राप्रपाले जनाएको छ ।

भद्रकालीमा जम्मा भएर सिंहदरबार पश्चिम गेट जाने, बिजुलीबजारमा जम्मा भएर संसद् भवन जाने र भाटभटेनी ढुङ्गेधारामा जम्मा भएर प्रधानमन्त्री निवास बालुवाटार जाने राप्रपाको तयारी छ ।

बिजुलीबजारको नेतृत्व अध्यक्ष लिङ्देनले, बालुवाटारको नेतृत्व डा. प्रकाशचन्द्र लोहनीले र भद्रकालीको नेतृत्व विक्रम पाण्डेले गर्नेछन् ।

यता राप्रपाले आज बिजुलीबजारमा निषेधित क्षेत्र तोड्दै प्रदर्शन गर्ने घोषणा गरेपछि सरकारले कडा चेतावनी दिएको छ ।

गृह मन्त्रालयले संविधान र कानुनको उल्लङ्घन गर्ने तथा समाजमा अराजकता फैलाउने कुनै पनि गतिविधि सह्य नहुने र त्यस्ता कार्यमा संलग्न जो कोहीलाई पनि कानुन बमोजिम कारबाही गरिने स्पष्ट पारेको छ ।

गृह मन्त्रालयका प्रवक्ता रामचन्द्र तिवारीले विज्ञप्ति जारी गर्दै राप्रपाले निषेधित क्षेत्र तोड्ने गरी प्रदर्शन गर्ने भन्ने सार्वजनिक अभिव्यक्ति र समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।

‘राष्ट्रिय प्रजातन्त्र पार्टीका नामबाट भोलि मिति २०८२/०१/०७ गतेका दिन प्रचलित कानुनबमोजिम तोकिएका निषेधित क्षेत्र तोड्ने भनी सार्वजनिक भएका समाचार र अभिव्यक्तिहरूप्रति गृह मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको छ,’ विज्ञप्तिमा भनिएको छ ।


मन्त्रालयले सबैलाई कानुनको पालना गर्न आग्रह गर्दै हिंसा फैलाउने अराजक, उत्तेजक र गैरकानुनी क्रियाकलापमा संलग्न नहुन अनुरोध गरेको छ ।

‘संविधान र कानूनको ठाडो उल्लंघन गर्न प्रोत्साहित गर्ने र समाजमा अराजकता फैलाउने कुनै पनि गतिविधि सह्य नहुने र यस्तो गतिविधिमा संलग्न हुने जो सुकैलाई कानुनबमोजिम कारबाही हुने व्यहोरा सूचित गरिन्छ,’ प्रवक्ता तिवारीले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

यसैबीच नेपाल शिक्षक महासङ्घले आज काठमाडौंको माइतीघर–बानेश्वर सडकखण्डमा गर्ने प्रदर्शनको समय परिवर्तन गरेको छ ।

यसअघि दिउँसो १२ बजेदेखि ३ बजेसम्म प्रदर्शन गर्दै आएकोमा आइतबार बिहान ९ बजेदेखि १२ बजेसम्म प्रदर्शन गर्ने निर्णय गरेको महासङ्घका अध्यक्ष लक्ष्मी किशोर यादवले जानकारी दिए ।

’परिस्थितिलाई मध्यनजर गरेर समय परिवर्तन गरेका छौं । ९ देखि १२ सम्म आन्दोलन गर्छौं । हाम्रो आन्दोलन शान्तिपूर्ण हुन्छ,’ सुवेदीले भने ।

महासङ्घले राप्रपाले पनि सोही क्षेत्रमा प्रदर्शन गर्ने कार्यक्रम तय गरेपछि सम्भावित असहज परिस्थितिलाई ध्यानमा राख्दै आफ्नो प्रदर्शनको समय परिवर्तन गरेको जनाएको छ ।

शिक्षकहरूले विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै गत चैत २० गतेदेखि माइतीघर–बानेश्वर क्षेत्रमा निरन्तर प्रदर्शन गरिरहेका छन् । सरकारसँग वार्ता भए पनि सहमति जुट्न नसकेपछि उनीहरूले आन्दोलन जारी राखेका हुन् ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved