आन्दोलन चर्काउने शिक्षक महासंघको निर्णय, सरकारले झुलाएको निष्कर्ष

नेपालभ्युज

आन्दोलन चर्काउने शिक्षक महासंघको निर्णय, सरकारले झुलाएको निष्कर्ष

काठमाडौं । नेपाल शिक्षक महासंघले आफ्ना माग सम्बोधनका लागि सरकारले विश्वासिलो आधार पेस नगरेको भन्दै आन्दोलन चर्काउने निर्णय गरेको छ ।

महासंघको बिहीबारको बैठकले आन्दोलनलाई थप चर्काउने निर्णय  गरेको सहअध्यक्ष नानुमाया पराजुलीले बताइन्। ‘सरकारले रित्तै घर फर्काउन खोजेको छ । अब झन् ७७ जिल्लाबाट शिक्षकहरू काठमाडौं आउनुहुन्छ । विद्यालयमा कोही पनि रहनु हुन्न । सरकारले थाम्न सक्दैन,’ पराजुलीले भनिन् ।

शिक्षकको आन्दोलनलाई सरकारले जिम्मेवार ढ‌ंगले नहेरेको महासंघको निष्कर्ष छ ।  ‘ऐन जारी गर्ने सुनिश्चतता खोजेका हौँ । सरकारबाट विश्वासिलो अपेक्षा राखेका थियौं तर भएन,’ उनले भनिन्, ‘आन्दोलनलाई सरकारले जिम्मेवार भएर हेरेको पाइएको छैन।’

सरकारले वैशाख १२ गतेको संसदको बजेट अधिवेशनमा विद्यालय शिक्षक विधेयक पास गर्दै फास्टट्र्याकबाट पारित गर्ने बताएपनि शिक्षकहरू विश्वस्त छैनन् । सभामुख देवराज घिमिरेले बजेट अधिवेशनमा विद्यालय शिक्षा विधेयक पारित हुन नसक्ने बताएपछि शिकहरूको थप सशंकित भएका हुन् ।

‘सभामुखले त्यस्तो अभिव्यक्ति दिनु भएको छ। यो अधिवेशनमा शिक्षा विधेयक टेबल गर्न नसकिने कुरा आयो,’ पराजुलीले भनिन्, ‘१२ गते वर्षे अधिवेशन बोलाउनु भयो । ६–७ गते नै बोलाउन सकिन्थ्यो । यसले सरकार जिम्मेवार नभएको देखाउँछ।’

शिक्षक कर्मचारीको सेवा सुविधाको विषय मन्त्रिपरिद्बबाट निर्णय गराउने भनेपनि सरकारले सर्त राखेकाले सहमत हुन नसकेको उनले बताइन्। सरकारले  सेवा सुविधा बढाउने कुरा निसर्त सम्बोधन गर्नुपर्ने माग आफुहरूको रहेको उनको भनाइ छ । ‘आन्दोलन छोडेमात्र मन्त्रिपरिषद्बबाट  सेवा सुविधाको निर्णय गर्ने सर्त हामीलाई मान्य छैन,’ उनले भनिन् ।

शिक्षकहरूले दुई सातादेखि सडक आन्दोलन गरिरहेका छन् ।

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved