काठमाडौं । गण्डकी विश्वविद्यालयको कुलपतिमा प्रा.डा. इन्द्रप्रसाद तिवारी नियुक्त भएका छन्। गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उनलाई शुक्रबार नियुक्त गरेका हुन्।
कुलपति बन्ने अन्तिम छनोटमा परेका ३ जनामध्ये तिवारीलाई मुख्यमन्त्री पाण्डेले नियुक्त गरेका हुन्। तिवारीसँगै प्रा.डा. विश्वकल्याण पराजुली र सरोज कोइराला कुलपतिका आकांक्षी थिए।
मुख्यमन्त्री पाण्डेले लोकतान्त्रिक पक्षका मानिने तिवारीलाई कुलपति नियुक्त गर्दै विश्वविद्यालयलाई विवाद र राजनीतिक प्रभावमुक्त बनाउन आग्रह गरेका छन्। गण्डकी विश्वविद्यालय स्थापना कालदेखि नै विभिन्न विवाद र राजनीतिक प्रभावमा परेको भन्दै आलोचना हुँदै आएको छ।
कुलपति प्रा.डा. गणेशमान गुरुङको फागुन ४ गते ५ वर्षे कार्यकाल सकिएपछि अर्का कुलपतिका लागि दरखास्त आह्वान भएको थियो। २०७६ सालमा ऐन बनाएर मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ नेतृत्वको सरकारले विश्वविद्यालय स्थापना गरेको थियो।
विश्वविद्यालयलाई स्वायत्त र सरकारको प्रभाव नपार्ने हेतुले नै गण्डकीमा ऐनमै पूर्णकालीन शैक्षिक क्षेत्रको कुलपतिको व्यवस्था गरिएको छ।
२०७६ सालमा ऐन बनाएर सरकारले गठन गरेको विश्वविद्यालय राजनीतिक भर्ती केन्द्र बनेको भन्दै मुख्यमन्त्री पाण्डे सुरुदेखि नै असन्तुष्ट थिए। पूर्व मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ नेतृत्वमा खुलेको विश्वविद्यालयमा अहिले करार सम्झौतामा रहेका ७८ जना शिक्षक कर्मचारीलाई स्थायी गर्ने प्रक्रिया बढाइएपछि सरकार र विश्वविद्यालयबीचमै विवाद भएको थियो। विश्वविद्यालयविरुद्ध मुद्दा उच्च अदालतमा विचाराधीन छ।
७८ जना शिक्षक कर्मचारीलाई स्थायी गर्ने प्रक्रिया रोक्न अन्तरिम आदेशसमेत अदालतले दिएको छ।
Facebook Comment
Comment