काठमाडौं । गत शुक्रबार तीनकुनेमा भएको राजावादीको प्रदर्शनमा पुगेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद बुद्धिमान तामाङले आफू त्यहाँबाट भागेको बताएका छन् ।
मञ्चमा पूर्वराजा ज्ञानेन्द्र शाह र आन्दोलनको कमाण्डर रहेका दुर्गा प्रसाईंको फोटो एउटै साइजमा देखेपछि आफू भागेको तामाङ बताउँछन् ।
संसद्को राज्यव्यवस्था तथा सुशासन समितिको बुधबारको बैठकमा उनले यसबारे बताएका हुन् ।
“हाम्रो पार्टीको अध्यक्ष राजेन्द्र लिङ्देनज्यु, ज्ञानेद्र शाहीसहित ग्रुप नै थियो । हामी प्रदर्शनमा जाने कुरा भइरहेको थियो । तर, मञ्चतिर हेर्दा त राजाको फोटो, अनि त्यही साइजको दुर्गा प्रसाईंको फोटो राखेको देखियो । ओहो ! खत्तम रहेछ भन्ने लाग्यो । हामी गएनौँ । आन्दोलनलाई समर्थन गर्ने भनेरमात्र हुँदो रहेनछ । हाम्रोबाट अध्यक्ष जानुभएन, धेरैजना जानुभएन ।”
उनले थपे, “मैले पनि यसो हेरेको दुर्गा प्रसाईंको फोटो देखेपछि टाप कसिहालेँ नि । फोटो देखेर डर लागिहाल्यो नि ।”
बैठकमा तामाङले तीनकुने घटनाको निष्पक्ष छानबिन गर्न माग गरे । कार्यक्रम सुरु नहुँदै मञ्चमा टियरग्यास हानिएको उनको भनाइ छ ।
उनले भने, “भोलि अरूलाई पनि यस्तै पर्न सक्छ । त्यसैले हामी गृहमन्त्रीलाई डेलिगेसन दिन जाँदै छौँ । यस घटनामा न्यायिक जाँच हुनुपर्छ । सत्यतथ्य पत्ता लगाउनुपर्छ । दोषीलाई नेपालको कानुनअनुसार कारबाही हुनुपर्छ ।”
Facebook Comment
Comment