काठमाडौं। नेपालमा पहिलोपल्ट आयोजित नयाँ स्वरूपको प्रतियोगिता ‘हिमालयन फ्रिस्टाइल चेस च्याम्पियनसिप’ को उपाधि फिडेमास्टर (एफएम) क्षितिज भण्डारीले जितेका छन् । शुक्रबार क्षितिजले फाइनलमा क्यान्डिडेट मास्टर ९सीएम० मिलन लामालाई पराजित गर्दै उपाधि जितेका हुन् ।
‘बेस्ट अफ थ्री’ को आधारमा होटल रोयल सिङ्गी, दरबारमार्गमा आयोजित फाइनलमा क्षितीजले सुरुआती दुवै खेल जितेर २–० ले मिलनको चुनौती समाप्त पार्दै सफलता हात पारेका हुन् । उनले सेमिफाइनलमा पुनम प्रसाईँलाई पराजित गरेका थिए भने मिलनले सुजन काफ्लेलाई हराएर उपाधि होडको यात्रा तय गरेका थिए ।
पूर्व विश्व चेस च्याम्पियन बबी फिसरले सुरु गरेको फ्रिस्टाइल चेसको प्रतियोगिता नेपालमै पहिलोपल्ट आयोजना गरिएको आयोजक हिमालयन चेस एकेडेमीले जनाएको छ । यसमा उपाधि विजेता क्षितीजले २५ हजार, उपविजेता मिलनले ९ हजार ६ सय, सेमिफाइनलमा रोकिएका पुनम र सुजनले समान ६ हजार ४ सय रुपैयाँँ प्राप्त गरे ।
हिमालयन चेस एकेडेमीले आफ्नो पहिलो वार्षिकोत्सवको अवसरमा आयोजित कुल १ लाख २५ हजार रुपिया पुरस्कारको अर्को प्रतियोगिता ‘हिमालयन ब्लिज कप’ को उपाधि राजन पुरीले जिते । स्वीस प्रणालीको आधारमा नौ राउन्ड सञ्चालित ब्लिज कपमा अपराजित रहँदै ७।५ अङ्क जोडेर राजनले पहिलो स्थान हात पारेका हुन् ।
सात जित, एक हार र एक बराबरीसँगै मुहान नरसिंह श्रेष्ठले ७।५ अङ्क बनाएका थिए । तर, उनलाई टाई ब्रेकरको आधारमा उछिन्दै राजन च्याम्पियन भएका हुन् । सात जित र दुई हारको नतिजासहित ७ अङ्क बनाएका अभिक शाह तेस्रोमा रहे । राजनले १५ हजार, मुहानले ७ हजार ५ सय र अभिकले ६ हजार रुपैयाँँ हात पारे ।
१६ स्पर्धासमावेश ब्लिजमा महिलातर्फको उपाधि कुसुम तामाङले जितिन् । गल्र्सतर्फ यू-८ मा रुबेश्री चौलागाइँ, यू-१२ मा निहाना श्रेष्ठ, यू-१४ मा नायुमा मगर र यू-१६ मा प्रज्ञा पन्त प्रथम भए । ब्वाइजतर्फ यू-८ मा शुभांग प्रधान, यू-१० मा अभियान राई, यू-१२ मा दीपन मैनाली, यू(१४ मा प्रवीर केसी र यू-१६ मा अनमोल राई पहिलो स्थानमा रहे ।
त्यस्तै, फिडे रेटिङ २००० मुनि सीताराम अग्रवाल, १७०० मुनि कृश अधिकारी, अनरेटेडतर्फ दिप्सन खड्का र एचसीएतर्फ आशिर्वाद थापा उत्कृष्ट ठहरिए । प्रतियोगितामा ५० खेलाडी सहभागि थिए ।
सात्त्विक वर्षका सर्वोत्कृष्ट खेलाडी
हिमालयन चेस एकेडेमीले वर्षका उत्कृष्ट खेलाडीसँगै विभिन्न आठ अवार्ड पनि प्रदान गरेको छ, जसमा सात्त्विक मान तुलाधरले प्लेयर अफ दि इयर २०२४ अवार्ड जितेका छन् ।
प्रेमविक्रम अधिकारी दुई विधामा अवार्ड जित्ने एक्लो खेलाडी बने । उनले फेयर प्ले र अनलाइन एरिना अवार्डमा सफलता हात पारेका हुन् । नायुमा मगरले कन्जेनियालिटी अवार्ड, प्रवीर केसीले ट्याक्टिकल टाइटन, निहाना श्रेष्ठले क्वीन्स अफ दि हिमालयज र शुभांग प्रधानले राइजिङ स्टार अवार्ड जिते । एकेडेमीले नेपालको पहिलो फिडे रेटेड खेलाडी सीताराम अग्रवाललाई लाइफटाइम एचिभमेन्टबाट नगदसहित सम्मान गर्यो ।
राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव टङ्कलाल घिसिङ, पहिलो राष्ट्रिय चेस च्याम्पियन विकासमान लामा, एसियन गेम्सकी रजत पदक विजेता एरिका गुरुङ, करातेका मुख्य प्रशिक्षक कुशल श्रेष्ठ, नेपाल सरकारका पूर्वसचिव जीवनप्रभा लामा, फुटबल लिजेन्ड हरि खड्का, पेमा डोल्मा लामा, नेपाल बिलियर्ड, स्नुकर तथा पुल संघका अध्यक्ष सरोजकुमार मुल्मी, काठमाडौं महानगरपालिका वडा नं ११ का अध्यक्ष हिरालाल तण्डुकर, एकडेमीकी संस्थापक एवम् नेपाल बुद्धिचाल मासंघकी उपमहासचिव मोनालिशा खम्बूले पुरस्कार तथा अवार्ड वितरण गरेका थिए ।
Facebook Comment
Comment