नेपाल हङकङसँग झिनो अन्तरले पराजित

नेपालभ्युज

नेपाल हङकङसँग झिनो अन्तरले पराजित

काठमाडाैं । युगान्डामा जारी महिला टी–२० अन्तरराष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपाल हङकङसँग पराजित भएको छ ।

युगान्डाको एन्टेब्बे क्रिकेट ओभलमा सोमबार राति सम्पन्न खेलमा नेपाल हङकङसँग दुई रनको झिनो अन्तरले पराजित भएको हो । हङकङले जितको लागि दिएको एक सय एक रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै ९८ रन मात्रै बनाएको हो ।

नेपालका लागि कप्तान इन्दु बर्माले सर्वाधिक ३२ रनको योगदान दिइन् । यस्तै, पूजा महतोले १९, विन्दु रावलले १४, रोमा थापाले अविजित १३ तथा साना प्रविनले १० रन बनाइन् ।

हङकङका लागि मारिको हिलले दुई तथा सियु मिवाई र चान का यिङले समान एक विकेट लिए ।

त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको हङकङले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै एक सय रनको योगफल तयार पारेको थियो । हङकङका लागि नताशा मिल्सले ३५, मारिको हिल्सले २१ तथा यश्मिन दासवनीले अविजित ११ रन बनाइन् ।

नेपालका लागि कप्तान इन्दु बर्मा र ईश्वरी विष्टले समान दुई÷दुई तथा पूजा महतो र रचनाकुमारी चौधरीले समान एक/एक विकेट लिए ।

यससँगै नेपालले प्रतियोगितामा दोस्रो हार बेहोरेको छ । नेपालले तीन खेलमा दुई अङ्क जोडेको छ । पहिलो खेलमा नामिबियासँग ६ विकेटको पराजय बेहोरेको नेपालले दोस्रो खेलमा घरेलु टोली युगान्डाविरुद्ध एक विकेटको जित निकालेको थियो ।

लगातार दोस्रो जित निकालेको हङकङको तीन खेलबाट चार अङ्क भएको छ । पहिलो खेलमा युगान्डासँग आठ विकेटको हार बेहोरेको हङकङले दोस्रो खेलमा नामिबियालाई चार विकेटले हराएको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved