बाँके । राईजिङ स्टार फुटबल क्लबले मुख्यमन्त्री कोहलपुर गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ ।
शनिबार कोहलपुर–२ स्थित तेह्र विगाह खेल मैदानमा सम्पन्न फाइनल खेलमा राईजिङ स्टारले आयोजक कोहलपुर रेसिङ साहारा क्लबलाई २–० को गोलअन्तरले पराजित गर्दै तेस्रो संस्करणको उपाधि उचालेको हो ।
खेलको पहिलो हाफ गोल रहित बराबरीमा सकिएको थियो । दोस्रो हाफमा लगातार दुई गोल गर्दै पाहुना टोलीले पहिलो पटक उपाधि जितेको हो ।
दोस्रो हाफको पहिलो मिनेटमै राईजिङका कप्तान विनोद केवटले गोल गरेर टोलीलाई अग्रता दिलाएका थिए । लगत्तै दुई मिनेटको अन्तरमा व्यक्तिगत दोस्रो गोल गर्दै उनले राईजिङको उपाधि पक्का गरेका थिए ।
राईजिङका कप्तान विनोद केवटनै खेलको म्यान अफ द म्याच घोषित भए । उपाधि सहित राईजिङले ट्रफीसहित नगद ८ लाख रुपैयाँ प्राप्त गरेको छ । विजेता टोलीलाई कोहलपुर नगरपालिकाका प्रमुख पूर्ण प्रसाद आचार्यले पुरस्कार प्रदान गरेका थिए । उपविजेता बनेको कोहलपुर रेसिङ साहारा क्लबले भने ४ लाख रूपैयाँमा चित्त बुझायो ।
विधागततर्फ सर्वोत्कृष्ट खेलाडीको अवार्ड आयोजक रेसिङ साहारा क्लबका विनोद केसीले जिते । उनले ट्रफीसहित ५१ हजार प्राप्त गरे । राईजिङ स्टारका चेतन थारू वेष्ट डिफेन्डर, प्रतिक सुनार उत्कृष्ट गोलकिपर, सन्दिप केसी उत्कृष्ट प्रशिक्षकको अवार्ड प्राप्त गरे ।
विधागततर्फ उत्कृष्ट बनेका उनीहरुले नगद १० हजार रुपैयाँ प्राप्त गरे । राईजिङ स्टारका विनोद केवट र काँक्रेविहार फुटबल क्लबका धनसिंह विक सर्वाधिक गोलकर्ता हुँदै नगद पाँच–पाँच हजार प्राप्त गरे ।
कोहलपुर रेसिङ साहारा क्लबको आयोजनामा फागुन १७ गतेदेखि सञ्चालन भएको प्रतियोगितामा घाना र भारतीय क्लब सहित आठ टिमको सहभागीता रहेको प्रतियोगिता संयोजक कर्ण बस्नेतले बताए ।
Facebook Comment
Comment