काठमाडौं । नयाँ प्रयोगको रुपमा नेपालमा पहिलोपल्ट फ्रिस्टाइल चेस प्रतियोगिता हुने भएको छ ।
हिमालयन चेस एकेड्मीले चैत १ गते ‘हिमालयन फ्रिस्टाइल चेस च्याम्पियनसिप’ आयोजना गर्न लागेको हो ।
एकेडेमीको वार्षिकोत्सवको अवसरमा फ्रिस्टाइल चेस च्याम्पियन आयोजना गर्न लागेको एकेडेमीकी अध्यक्ष मोनालिसा खम्बूले बताइन् ।
पूर्वविश्व च्याम्पियन अमेरिकी ग्रान्डमास्टर बबी फिसरले परम्परागत चेसलाई रोचक बनाउने प्रयासस्वरुप फ्रिस्टाइल चेस सुरु गरेका थिए । यसैको प्रतियोगिता आयोजना गर्दै हिमालयन चेस एकेडेमीले नेपालमा फ्रिस्टाइल चेसलाई भित्र्याउने पहल गरेको हो ।
‘परम्परागत चेस जेन जी नयाँ पुस्ता का लागि खासै रोचक भएन । सिद्धान्तअनुसार खेलिने चेसलाई नयाँपन दिँदै फ्रिस्टाइल चेसले रोचक बनाएको छ । त्यसैले हामीले पहिलोपल्ट नेपालमा फ्रिस्टाइल चेसको प्रतियोगिता आयोजना गर्न लागिएको हो,’ अध्यक्ष खम्बूले बताइन् ।
च्याम्पियनसिपका चिफ आर्बिटर याइशाष यासिर खम्बूकाअनुसार फ्रिस्टाइल चेस लिग कम नकआउटको आधारमा सञ्चालन गरिनेछ । सहभागी खेलाडीलाई चार समूहमा विभाजन गरी समूह चरणका खेल एकेडेमीको थापाथलीस्थित चेस हलमा गरिनेछ ।
समूह विजेता चार खेलाडी फाइनल्समा प्रवेश गर्नेछन् । उनीहरूले नकआउटको आधारमा चैत १ गते होटल रोयल सिङ्गीमा हुने फाइनलमा प्रतिस्पर्धा गर्नेछन् ।
यस्तै, एकेडेमीले आफ्नो वार्षिकोत्सव चैत १ गते शुक्रबार एकैसाथ दुई प्रतियोगिता आयोजना गर्दैछ । फ्रिस्टाइल च्याम्पियनसिपसँगै ‘हिमालयन ब्लिज कप’ आयोजना गर्न लागेको हो । फ्रिस्टाइलको शीर्ष चारमा स्थान बनाउन असफल खेलाडीसँगै अरु चेस खेलाडीले स्वीस प्रणालीको आधारमा हुने एक दिने ब्लिज कप खेल्नेछन् ।
दुई प्रतियोगिताको कुल पुरस्कार १ लाख २५ हजार रुपैयाँ रहेको छ । फ्रिस्टाइलको विजेताले २५ हजार, उपविजेताले ९ हजार ६ सय तथा सेमिफाइनलमा पराजित हुने २ खेलाडीले जनही ६ हजार ४ सय रुपैयाँ पाउनेछन् ।
१६ स्पर्धा समावेश ब्लिज कपको विजेताले १५ हजार, उपविजेताले ७ हजार ५ सय, तेस्रोले ६ हजार र चौथो हुनेले ४ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
ब्लिज कपमा शीर्ष १०, महिलासँगै गर्ल्स र ब्वइजका यू-८, यू-१०, यू-१२, यू-१४, यू-१६ विजेता, एचसीए बेस्ट, ५० वर्षमाथिको भेट्रान, अनरेटेडतर्फका उत्कृष्ट, फिडे रेटिङ २००० र १७०० मुनिका उत्कृष्ट खेलाडीले पनि नगद पुरस्कार पाउनेछन् ।
एकेमेडीले एक वर्षभित्र सात प्रतियोगिता आयोजना गर्न लागेको हो । यसअघि उसले एसईई कप, हिमालयन १०० फर गिनिज वर्ल्ड रेकर्ड्स, हिमालयन तीज चेस टोर्नी, प्यट्रिओटिक पन च्याम्पियनसिप र हिमालयन डुओ गरी ५ प्रतियोगिता सफलतापूर्वक आयोजना गरेको थियो ।
बौद्धिक खेलको रुपमा परिचित चेसलाई नेपालमा प्रवर्द्धन र विकास गर्ने उद्देश्यले स्थापित हिमालयन चेस एकेडेमीले फ्रेसर, बिगिनर्स, एड्भान्स बिगिनर्स, इन्टरमिडियट र एड्भान्स गरी ५ वटा कोर्समा १ सय बढीलाई काठमाडौं महानगरपालिका-११ थापाथलीस्थित आफ्नै हलमा नियमित चेस ट्रेनिङ दिइरहेको छ ।
एकेडेमीले गत पौषदेखि कौशलटारमा भक्तपुर शाखा सञ्चालनमा ल्याएको हो । भर्चुअल रुपमा अनलाइन कक्षा नियमित भइरहेको छ । प्रत्येक बुधबार महिलालाई नि:शुल्क प्रशिक्षण दिइरहेको छ । स्कूल र समुदायमा कार्याशाला तथा प्रशिक्षण सञ्चालन गर्दै आएको छ ।

Facebook Comment
Comment