च्याम्पियन्स ट्रफी

खेल जित्ने अफगानिस्तान : इङ्ल्यान्डलाई सुझाव, पाकिस्तानी खेलाडीलाई गाली !

नेपालभ्युज

खेल जित्ने अफगानिस्तान : इङ्ल्यान्डलाई सुझाव, पाकिस्तानी खेलाडीलाई गाली !

काठमाडौं । पाकिस्तान र यूएईमा जारी च्याम्पियन्स ट्रफी क्रिकेट प्रतियोगितामा बुधबार राति सनसनीपूर्ण नतिजा निस्कियो । भर्खरै टेस्ट क्रिकेटमा पाइला चाल्दै गरेको अफगानिस्तानले सदावहार पावरहाउस इङ्ग्ल्यान्डलाई ८ रनले हरायो ।

यस जितले अफगानिस्तानको चर्चा हुनु स्वाभाविकै हो । तर यस नतिजाले पाकिस्तानी टोलीका खेलाडीमाथि गालीको वर्षा भइरहेको छ । यसरी गाली गर्नेमा पाकिस्तानी क्रिकेट समर्थक बढी छन् । एक पाकिस्तानी समर्थकले त भिडिओ सन्देश नै जारी गर्दै आईसीसीसँग अबदेखि पाकिस्तानलाई भारतको समूहमा राखेर नखेलाउन आग्रह गरेका थिए । आफूहरू हारबाट आजित भएको बताउँदै उनले यस्तो बताएका हुन् ।

भारतसँग पराजित भएर बाहिरिएपछि कतिपय पाकिस्तानी समर्थकले अब क्रिकेट खेलेर समय खर्च नगर्न व्यङ्ग्यात्मक सुझाव दिएका छन् । आयोजक भएर पनि समूह चरणबाटै बाहिरिएपछि पाकिस्तानमाथि आलोचना भइरहेको हो ।

पाकिस्तानका पूर्वफास्ट बलर शोएब अख्तरले अफगानिस्तानले बनाएको ३२५ रनको प्रशंसा गरेका छन् । एउटा भिडिओ सन्देश जारी गर्दै उनले अफगानी खेलाडीले ठूलो मनसायका साथ खेल्ने गरेकाले सफलता मिलेको बताएका छन् ।

‘मलाई पश्तुन (अफगानी जाति) जनता धेरै मन पर्छ, मलाई उनीहरूको जोश धेरै राम्रो लाग्छ । इङ्ल्यान्डविरुद्ध उनीहरूले देखाएको परिपक्वता मलाई मन पर्यो । म चाहन्थें कि पाकिस्तान, भारत र अफगानिस्तान सेमिफाइनल खेलुन् भन्ने म चाहन्थेँ । तर एउटा टोली बाहिरिएको छ । दुर्भाग्यवश त्यो हाम्रो टोली थियो ।’

यसैबीच, अफगानिस्तानको जितपछि अख्तरले अर्को भिडियो पनि जारी गरेका छन् । जसमा उनले भनेका छन्, ‘अब अष्ट्रेलियालाई पनि हराउनु पर्छ ।’

भारतका पूर्वक्रिकेटर रवि शास्त्रीले पनि अफगानिस्तानले चमत्कार गरेको भन्दै प्रशंसा गरेका छन् । उनले पराजित इङ्ल्यान्डलाई भने सुझाव दिएका छन् । ‘अफगानिस्तान तिमीहरूले चमत्कार गर्यौ । इङ्ग्ल्यान्डका खेलाडीका लागि म भन्छु– यस उपमहाद्वीपमा कुनै पनि बहानाबिना खेललाई गम्भीरतापूर्वक लिनुहोस् । तब मात्र तपाईंहरूलाई जहाँ पनि जित्न सक्ने टोलीको रूपमा चिनिने छ ।’

यश तिवारी नामक एक सामाजिक सञ्जाल प्रयोगकर्ताले अफगानिस्तानका ब्याट्सम्यानहरूले पाकिस्तानलाई कसरी खेल्नुपर्छ भनेर सिकाइरहेको बताएका छन् ।

यस्तै जोन्स नामका अर्का प्रयोगकर्ताले ‘अफगानिस्तान टोलीले लाहोरमा प्रभुत्व जमाउँदैछ । च्याम्पियन्स ट्रफी आफ्नो उत्कर्षमा पुग्दैछ,’ लेखेका छन् ।

सामाजिक सञ्जाल प्लेटफर्म रेडिटमा अफगानिस्तान एसियाको दोस्रो ठूलो टोलीको रुपमा देखा परेको छ कि छैन ? भनेर सोध्दा धेरैजसो मानिसले सहमति जनाएका छन्।

रोचक कुरा के छ भने आईसीसी वरीयतामा शीर्ष आठ टोलीमा समावेश नभएका कारण श्रीलङ्काले यस प्रतियोगितामा भाग लिन सकेन । यसको सट्टा अफगानिस्तानले पहिलो पटक च्याम्पियन्स ट्रफीमा भाग लिएको हो ।

पाकिस्तान र बङ्गलादेश दुवै प्रतियोगिताबाट बाहिरिएका छन् । अब प्रतियोगितामा भारत र अफगानिस्तान मात्र एसियाली टोली हुन् । भारत पहिले नै सेमिफाइनलमा पुगिसकेको छ भने अफगानिस्तानका लागि अष्ट्रेलिया विरुद्धको खेल क्वार्टरफाइनल बनेको छ ।

अफगानिस्तानसँग पराजित हुँदै इङ्ग्ल्यान्ड समूह चरणबाटै बाहिरियो


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved