कप्तान र प्रशिक्षक भन्छन्- नेपालको प्रमुख लक्ष्य विश्वकप छनोट

नेपाली राष्ट्रिय क्रिकेट टिमका नवनियुक्त कप्तान सन्दीप लामिछाने र प्रमुख प्रशिक्षक पुबुदु दासानायेकेले हाल नेपालको प्रमुख लक्ष्य भनेको नै टी–ट्वान्टी विश्वकप छनोट रहेका बताएका छन्।

नेपालभ्युज

कप्तान र प्रशिक्षक भन्छन्- नेपालको प्रमुख लक्ष्य विश्वकप छनोट

काठमाडौं। नेपाली राष्ट्रिय क्रिकेट टिमका नवनियुक्त कप्तान सन्दीप लामिछाने र प्रमुख प्रशिक्षक पुबुदु दासानायेकेले हाल नेपालको प्रमुख लक्ष्य भनेको नै टी–ट्वान्टी विश्वकप छनोट रहेका बताएका छन्।

सोमबार साँझ पत्रकारसँग भएको भर्चुअल मिटिङमा प्रशिक्षक पुबुदुले भने, “यसपालिको छनोट प्रतियोगिता कठिन त छ, तर नेपाली टिमको हाल बलिङ र ब्याटिङ दुवै पक्ष सन्तुलित भएकाले विश्वकपका लागि छनोट हुनेमा मलाई विश्वास छ।”

उनका अनुसार नेपाली टिमले हाल धेरै मिहेनत गरिरहेको छ। छनोट प्रतियोगितामा त्यसको आश्चर्यजनक नतिजा आउनेछ।

यदि नेपालले यो पटक विश्वकप खेलेमा नेपालको लागि त्यो निकै ठुलो अवसर र उपलब्धि हुने पनि उनले बताए।

पुबुदु कै प्रशिक्षणमा नेपालले सन् २०१४ मा पहिलो पटक टी–ट्वान्टी विश्वकप खेलेको थियो। त्यसयता नेपाल विश्वकपका लागि छनोट हुन सकेको छैन।

त्यस्तै नेपाली टिमका कप्तान सन्दीपले भने, “हामी विश्वकपसम्म पुग्छौ र विश्वकपमा पनि राम्रो प्रदर्शन गर्ने छौ, जुन नेपाली क्रिकेटको भविष्यका लागि राम्रो संकेत हुनेछ। नेपाल जसरी पनि यो छनोट प्रतियोगितामा शीर्ष दुई स्थान भित्र पर्नेछ। ”

कोभिड संक्रमणका कारण आफुससँगै टिमका पाँच ६ जना खेलाडी अझै पनि आइसोलेसनमा रहेको र प्रतियोगिता शुरु हुनुभन्दा धेरै समय अगाडी ठिक भएर सँगै तयारी गर्ने उनले बताए।

टी–ट्वान्टी विश्वकप आउँदो अक्टोबरमा अस्ट्रेलियामा आयोजना हुँदैछ। नेपाल उक्त विश्वकप छनोटको ‘ग्रुप ए’ मा रहको छ। आठ टिम सहभागी यो प्रतियोगितामा फाइनल पुग्ने दुई टिम विश्वकपको लागि छनोट हुनेछन्।

छनोटका खेलहरू आउँदो फेब्रुअरी १८ देखि ओमानमा सञ्चालन हुँदैछ। छनोट प्रतियोगिताको समूह चरणमा नेपालले आयोजक ओमान, क्यानडा र फिलिपिन्ससँग प्रतिस्पर्धा गर्नेछ।

समूह चरणका शीर्ष दुई टिमले सेमिफाइनल खेल्नेछन् भने सेमिफाइनल हुँदै फाइनलको यात्रा तय गर्न सके नेपाल विश्वकपका लागि छनोट हुनेछ।

यो छनोट प्रतियोगिताको तयारी स्वरूप नेपालले ओमानमा नै चार देशीय टी—ट्वान्टी शृङ्खला पनि खेल्दै छ। फेब्रुअरी ११ देखि खेलिने यो शृङ्खलामा नेपाल, ओमान, आयल्र्याण्ड र युएईले प्रतिस्पर्धा गर्नेछन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved