काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कीर्तिपुरको त्रिवि क्रिकेट रङ्गशालाको तोकिएको समयमा पूर्वाधार निर्माण सम्पन्न हुने गरी तीव्रताका साथ काम गर्न शहरी विकास मन्त्रालयलाई निर्देशन दिएका छन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा मन्त्रालयका विषयमा बुधबार ब्रिफिङ लिँदै उनले त्रिवि क्रिकेट रङ्गशालालाई अन्तर्राष्ट्रियस्तरको बनाउने कार्यलाई छिटो अघि बढाउन निर्देशन दिएका हुन् ।
प्रधानमन्त्री ओलीले पद बहालीका क्रममा ३०० दिनभित्र उक्त रङ्गशालाको स्तरोन्नति गर्ने निर्णय लिएका थिए । रङ्गशालामा प्यारापिट र फ्लडलाइट निर्माणका लागि मन्त्रालयले आव्हान गरेको बोलपत्रबमोजिम मूल्याङ्कनको चरण सकिन लागेकाले चाँडै ठेक्का सम्झौता हुने प्रधानमन्त्रीलाई अवगत गराइएको थियो । प्रधानमन्त्री ओलीले यस चरणको काम जारी हुँदै अर्को चरणको निर्माणको कामका लागि सम्झौता प्रक्रिया अघि बढाउन पनि आग्रह गरेको उनको सचिवालयले जनाएको छ ।
बैठकमा हरेक जेठ १५ मा संसद्मा बजेट आउने हुँदा नयाँ आर्थिक वर्ष सुरु भए देखि नै तदारुकताका साथ बजेट र कार्यक्रमको कार्यान्वयन हुनुपर्नेमा ढिलाइ हुने आम प्रवृत्तिप्रति चिन्ता प्रधानमन्त्री ओलीले व्यक्त गरेहका हुन् । सो मन्त्रालयको चालु आवको चालु प्रगति १९ दशमलव ३५ र पुँजीगत प्रगति १२ दशमलव ०४ मात्रै भएको पाइए पनि समग्र कार्य प्रगति सन्तोषजनक पाइएको प्रधानमन्त्री ओलीको भनाइ थियो । उनले पूर्वाधार निर्माणमा ढिलाइ भएमा मुलुकको उत्पादन र उत्पादकत्ववृद्धिमा असर पर्ने भएकाले ढिलाइ नगरी काम गर्न निर्देशन दिए ।
उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंह र सम्बन्धित उच्चाधिकारीसमेतको सहभागितामा भएको छलफलमा मन्त्रालयमातहत रहेका सङ्घीय संसद भवन, धरहरा, सङ्घीय मन्त्रीहरुको निवास, दमक व्यापारिक कम्ल्पेक्स, नेपाली सेनाको चण्डी दल, थापाथलीस्थित नेपाल राष्ट्र बैँकको भवन निर्माण, हस्तान्तरण, सञ्चालन र मन्त्रालयको भावी योजनाबारे अवगत गराइएको थियो ।
यसैबीच प्रधानमन्त्री ओलीले पनि नेपाल क्रिकेट सङ्घ (क्यान)का सचिव पारस खड्का र नेपाली राष्ट्रिय टोलीका कप्तान रोहित पौडेललगायतसँगको भेटको तस्वीर सामाजिक सञ्जालमा राख्दै यसबारे जानकारी दिएका छन् ।
‘अस्ति हाम्रा खेलाडी रोहित पौडेल, इन्दु बर्मा, पूजा महतोसहित क्यानका सचिव पारस खड्कासँगको भेटमा कीर्तिपुर र मूलपानीको क्रिकेट रङ्गशालासहित समग्र नेपाली क्रिकेटको कुरा भएको थियो । त्यसको भोलिपल्टै बुधबार सहरी विकासमन्त्रीसहित सचिव र मन्त्रालयका पदाधिकारीहरूसँग कीर्तिपुरमा क्रिकेट रङ्गशाला तोकिएको समयमै निर्माण गरिसक्न के भइरहेको छ भन्ने विषयमा छलफल गरेको छु,’ उनले फेसबूकमा लेखेका छन्, ‘पहिलो चरणमा फ्लडलाइट, प्यारापिट बनाउने र दोस्रो चरणमा अन्तर्राष्ट्रियस्तरको सुविधासम्पन्न रंगशाला बनाउने काम अघि बढेको जानकारी पाएँ । कामलाई तीन सिफ्टमा अघि बढाएर समयमै सक्न निर्देशन दिएको छु ।’
Facebook Comment
Comment