अपराजित रहँदै जनकपुरले उचाल्यो एनकेएलको उपाधि

नेपालभ्युज

अपराजित रहँदै जनकपुरले उचाल्यो एनकेएलको उपाधि

काठमाडौं। जनकपुर नाइट्सले अपराजित रहँदै नेपाल कबड्डी लिग एनकेएलको पहिलो संस्करणको उपाधि जितेको छ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् राखेप कभर्डहलमा शुक्रबार भएको फाइनल  खेलमा काठमाडौं माभरिक्सलाई ४५–४१ ले पराजित गर्दै जनकपुरले उपाधि जितेको हो ।

उपाधिसँगै जनकपुरले पाँच लाख रुपैयाँ प्राप्त गर्‍यो। उपविजेता काठमाडौंले भने दुई लाखमा चित्त बुझायो ।

पहिलो क्वालिफायरमा विराटनगर ब्यान्डिट्सलाई हराउँदै जनकपुरले फाइनलमा स्थान बनाएको थियो। काठमाडौंले पनि दोस्रो क्वालिफायरमा विराटनगरलाई नै पराजित गर्दै जनकपुरसँगको भेट पक्का गरेको हो ।

लिग चरणमा यी दुई टोलीले ३९–३९ अंकको बराबरी खेलेका थिए। तर, फाइनलमा भने जनकपुरले काठमाडौंलाई पराजित गर्दै उपाधि जित्यो ।

पहिलो हाफमै जनकपुरले ६ अंकको अग्रता लिएको थियो। रेइडबाट जनकपुरले आठ, ट्याकल ६, दुई अलआउटबाट चार तथा बोनस र अतिरिक्तबाट सात अंक जोडेको थियो ।

काठमाडौंले भने रेइडबाट दुई, ट्याकलबाट ६ तथा बोनस र अतिरिक्तबाट ११ अंक मात्रै जोड्न सक्यो। योसँगै पहिलो हाफ २५–१९ मा सकिएको थियो।

दोस्रो हाफमा कप्तान घनश्याम रोक्कामगरले उत्कृष्ट प्रदर्शन गर्दै काठमान्डुलाई खेलमा फर्काएका थिए। तर, अन्तिम मिनेटतिर सम्हालिन नसक्दा काठमाडौं उपाधिबाट विमुख हुन पुग्यो।

काठमाडौंले रेइडबाट सात, ट्याकलबाट पाँच, एक अलआउटबाट दुई तथा बोनस तथा अतिरिक्तबाट आठ अंक जोडेको थियो। जनकपुरले भने रेइडबाट सात, ट्याकलबाट ६ तथा बोनस र अतिरिक्त गरेर पाँच अंक मात्रै बटुल्न सक्यो।

यस्तै, नेपाल कबड्डी लिगको उत्कृष्ट रेइडर काठमाडौंका कप्तान घनश्याम रोक्कामगर घोषित भएका छन्।

काठमाडौंलाई फाइनलमा पुर्‍याउन उत्कृष्ट प्रदर्शन गरेका घनश्याम नै उत्कृष्ट रेइडर भए। उनले २५ हजार रुपैयाँ प्राप्त गरे।

जनकपुरका उत्कृष्ट डिफेन्डर थान्नगास्का सिहेरा भए। उनले पनि २५ हजार रुपैयाँ प्राप्त गरे।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved