काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को छ महिनामा पुँजीगत खर्च विनियोजित बजेटको १६ दशमलव २ प्रतिशत मात्र भएको छ ।
अर्थ मन्त्रालयले आइतबार सार्वजनिक गरेको विवरण अनुसार चालु आव पहिलो ६ महिनामा कुल विनियोजित ३ खर्ब ५२ अर्ब ३५ करोड पुँजीगत खर्चमध्ये ५६ अर्ब ९४ करोड खर्च भएको जनाएको हो । यो वार्षिक विनियोजनको तुलनामा १६.२ प्रतिशत खर्च हो ।
त्यसै गरी पहिलो ६ महिनामा सरकारको खर्च ७ दशमलव ८ प्रतिशतले बढेको छ । गत आव सोही अवधिमा १ दशमलव ७ प्रतिशतले घटेको थियो । वित्तीय संस्थामा निक्षेप सङ्कलन २ खर्ब ११ अर्बले बढेको छ भने निक्षेप सङ्कलन ३ दशमलव ३ प्रतिशतले सुधार भएको छ । कर्जा प्रवाह पनि ४ दशमलव ४१ प्रतिशतले बढेको छ ।
अर्थ मन्त्रालयका अनुसार चालु खर्चका लागि विनियोजित ७ खर्ब ३१ अर्ब ७९ करोडमध्ये पुस मसान्तसम्म २ खर्ब ६६ अर्ब ८५ करोड खर्च भएको छ । यो कुल व्ययको ३६ दशमलव ५ प्रतिशत हो ।
यसै गरी वित्तीय व्यवस्थातर्फ विनियोजित ३ खर्ब ६७ अर्ब २८ करोडमध्ये पुस मसान्तसम्म १ खर्ब ५८ अर्ब ६६ करोड खर्च भएको अर्थ मन्त्रालयले जनाएको छ । यो वार्षिक विनियोजनको तुलनामा ४३ दशमलव २ प्रतिशत खर्च हो ।
अर्थका अनुसार चालु आव पहिलो ६ महिनामा वित्तीय समानीकरण अनुदानतर्फ ६८ अर्ब २६ करोड, सशर्त अनुदान १ खर्ब १२ अर्ब २५ करोड, समपूरक अनुदान २ अर्ब ४३ करोड, विशेष अनुदान २ अर्ब ५१ करोड गरी कुल १ खर्ब ८५ अर्ब ४४ करोड हस्तान्तरण भएको छ । यो भनेको वार्षिक विनियोजनको तुलनामा ४५.४ प्रतिशत बराबर हस्तान्तरण हो ।
त्यस्तै राजस्व बाँडफाँटतर्फ ५१ अर्ब ७४ करोड हस्तान्तरण भएको छ । वार्षिक विनियोजन भने १ खर्ब ५९ अर्ब बराबर थियो । यो ३२ दशमलव ५ प्रतिशत हस्तान्तरण हो ।
निर्यात ३१ दशमलव ८ प्रतिशतले वृद्धि भएको छ । गत आव सोही अवधिमा निर्यात ७ दशमलव २ प्रतिशतले घटेको थियो । मन्त्रालयका अनुसार चालु आव पहिलो ६ महिनामा ९८ अर्ब ७९ करोड रुपैयाँ बराबर वस्तु निर्यात भएको छ । गत आव सोही अवधिमा भने ७४ अर्ब ९७ करोडको निर्यात भएको थियो ।
त्यसै गरी पहिलो ६ महिनामा ८ खर्ब २२ अर्ब ३७ करोड बराबरका वस्तु आयात भएको छ । यो ७ दशमलव १ प्रतिशतले बढेको हो । गत आव पहिलो ६ महिनामा भने ७ खर्ब ६८ अर्ब १७ लाखको आयात भएको थियो ।
अर्थ मन्त्रालयका अनुसार चालु आव पहिलो ६ महिनामा राजस्व १२ दशमलव ७ प्रतिशतले वृद्धि भएको छ । गत आव सोही अवधिमा भने ८ दशमलव २ प्रतिशत मात्र बढेको थियो ।
Facebook Comment
Comment