माओवादी केन्द्रको केन्द्रीय समिति बैठक बस्दै : अध्यक्ष प्रचण्डले राजनीतिक र साङ्गठनिक प्रतिवेदन प्रस्तुत गर्ने

नेपालभ्युज

माओवादी केन्द्रको केन्द्रीय समिति बैठक बस्दै : अध्यक्ष प्रचण्डले राजनीतिक र साङ्गठनिक प्रतिवेदन प्रस्तुत गर्ने

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र)को केन्द्रीय समिति बैठक आज (आइतबार)देखि सुरु हुँदैछ । धुम्बाराहीस्थित स्मार्ट दरबार ब्याङ्केटमा आज अपराह्न १ बजेदेखि बस्ने बैठकमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक तथा साङ्गठनिक प्रतिवेदन प्रस्तुत गर्नेछन् ।

‘पार्टी रुपान्तरण र पुननिर्माणको सङ्कल्प : आजको आवश्यकता’ शीर्षकको राजनीतिक प्रतिवेदनमाथि केन्द्रित रही बैठकमा छलफल हुने पार्टी उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए । बैठकको प्रारम्भमा अध्यक्ष प्रचण्डले पछिल्लो राजनीतिक परिस्थितिका बारेमा ‘ब्रिफिङ’ गर्ने र लगत्तै उनीबाट प्रस्तुत प्रतिवेदनमाथि छलफल हुनेछ ।

बैठकमा चार सय नौ पूर्ण केन्द्रीय सदस्य, दुई सय पाँच वैकल्पिक केन्द्रीय सदस्य, तीन आयोगबाट ७५ तथा सात भौगोलिक र तीन गैरभौगोलिक गरी १० प्रदेशका पदाधिकारी गरी एक सय २५ जनाको समेत सहभागिता रहनेछ ।

यसअघि केन्द्रीय समिति बैठक सञ्चालनको ‘मोडालिटी’ टुङ्गो लगाउन आज बिहान ८ बजे उक्त पार्टीको स्थायी समितिको बैठक बस्दैछ । संसद्को हिउँदे अधिवेशनको पूर्वसन्ध्यामा दुवै राजनीतिक दलको बस्न लागेको बैठकले संविधान संशोधनलगायतका एजेण्डामा ठोस धारणा तय गर्ने बताइएको छ ।

यस्तै सरकारको नेतृत्व गरिरहेको दल नेकपा (एमाले) केन्द्रीय समिति बैठक पनि आजदेखि सुरु हुँदैछ ।

आजदेखि एमालेको केन्द्रीय समिति बैठक : अध्यक्ष ओलीले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्ने

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved