धनगढी । सुदूरपश्चिम प्रदेशमा आजदेखि भुवा पर्व सुरु भएको छ ।
ऐतिहासिक महत्त्व रहेको भुवा पर्व प्रदेशको पहाडी जिल्लामा सुरु भएको हो । उक्त पर्व कैलालीको धनगढीमा पनि तीन दिनसम्म मनाइने भएको छ ।
धनगढीमा बाजुरेली सेवा समाजले भुवा पर्व मनाउन लागेको हो । भुवा महाभारतको पाण्डव र कौरवबीचको युद्धदेखि यो पर्व आरम्भ भएको जनविश्वासमा मनाउने प्रचलन छ ।
हाल लोपोन्मुख अवस्थामा रहेको भुवा पर्वको ऐतिहासिक, सांस्कृतिक महत्त्व रहेको छ । यो प्राचीनकालीन युद्धको भाका पनि हो । जसमा कौशलताको प्रदर्शनी गरिन्छ । जसको आफ्नै मौलिक विशेषता रहेको छ ।
भूवा पर्व धनगढी उपमहानगरपालिका–१ खुल्ला मञ्चमा सुरु भएको बावुरेली समाजका अध्यक्ष बजिरसिंह धामीले बताए । उनका अनुसार प्रदर्शनीसँगै प्रतियोगिता पनि आयोजना गरिएको छ ।
प्रतियोगितामा सुदूरपश्चिमका तराईका जिल्लामा बसोबास गर्दै आएका बाजुरा तथा बझाङका नागरिकहरूका विभिन्न समूहको बीचमा प्रतिस्पर्धा गरिन्छ ।
भुवा पर्वमा ढाल र तरबारसहित चाली खेल्ने प्रचलन रहँदै आएको छ । जसको सुरुवातदेखि समाप्तिसम्म आफ्नै विधि प्रक्रिया रहेको छ । यस पर्वमा पुरुष जतिकै महिलाहरुको पनि सहभागिता रहने गर्दछ ।
त्यस्तै भुवा खेल्ने पुरुषहरूले सेतो भोटोसहित जामा, पछाडि कुमदेखि खुट्टासम्म पुग्ने गरी पिठ्युँमा एउटा सेतो चादर जस्तो पहिरनुपर्छ । टाउकोमा पघरी बाँध्नुपर्छ । पर्वमा ढाल र तरबारसहित चाली खेल्ने प्रचलन रहँदै आएको छ । जसको सुरुवातदेखि समाप्तीसम्म आफ्नै विधि प्रक्रिया रहेको धामी बताउँछन् ।
Facebook Comment
Comment