सोलुखुम्बु । उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले जलवायु परिवर्तनको असरले नेपाललाई गम्भीर रूपले प्रभावित बनाएको उल्लेख गर्दै अब विकास निर्माणका काम प्रकृतिमैत्री ढंगले गर्नुपर्नेमा जोड दिएका छन् ।
आइतबार सोलु दुधकुण्ड नगरपालिकाको प्रशासनिक भवन शिलान्यास गर्दै उनले भने, “विकास निर्माण गर्नुपर्छ, तर प्रकृतिसँग मेल खाने गरी गर्न सिक्नुपर्छ। जथाभावी विकासले वातावरणीय सन्तुलन बिगार्न सक्छ, त्यसैले समयअनुसार हामी चल्नैपर्छ । घर, भवन होस् वा अन्य निर्माण कार्य, वातावरणीय प्रभावलाई ख्याल गर्नुपर्ने समय आएको छ ।”
उनले प्रशासनिक भवन निर्माणपछि नागरिक सेवाप्रवाह प्रभावकारी हुने विश्वास व्यक्त गरे । त्यस्तै, उनले सोलुखुम्बुको पर्यटकीय महत्त्वलाई उजागर गर्दै ४० वर्षअघि पिता गणेशमान सिंहसँग यहाँ आएको स्मरण गरे । सिंहका अनुसार सोलुखुम्बुले विगतका दशकहरूमा उल्लेखनीय विकास देखाएको छ ।
संविधान संशोधनमा सरकारको पहल
सिंहले राजनीतिक स्थिरता र आर्थिक विकास सुनिश्चित गर्न वर्तमान सरकारले संविधान संशोधनको प्रक्रिया अघि बढाएको जानकारी दिए । “संविधानलाई प्रभावकारी बनाउँदै तीन तहका सरकारलाई अझ अधिकारसम्पन्न बनाउन संशोधन आवश्यक छ। यसका लागि सबै दलसँग छलफल भइरहेको छ,” उनले भने ।
पालिकाका प्रमुख नाम्गेल जाङ्बु शेर्पाले आन्तरिक स्रोतबाट दुई वर्षभित्र प्रशासकीय भवन निर्माण सम्पन्न गर्ने योजना सुनाए । कार्यक्रममा रक्षा मन्त्री मानबहादुर राईको उपस्थिति पनि थियो ।
Facebook Comment
Comment