विराटनगर । मोरङ व्यापार संघका अध्यक्षमा नवीन रिजाल चुनिएका छन्। गत २० पुसमा निर्विरोध चयन १६ सदस्यको समूहले अध्यक्ष पदमा रिजाललाई चयन गरेको हो।
रिजाल यसअघि संघका वरिष्ठ उपाध्यक्ष थिए। उनी ‘रिजालको’ ब्रान्डका पानीटङ्की, पाइप, एलपी ग्यास आदिका उत्पादक हुन्। २००७ सालमा स्थापना गरिएको र नेपालकै पहिलो उद्योग वाणिज्य संघका रूपमा दाबी गरिएको व्यापार संघमा रिजाल ३३ औँ कार्यसमितिका अध्यक्ष हुन्।
त्यस्तै वरिष्ठ उपाध्यक्षमा अनुपम राठी, वाणिज्यतर्फ उपाध्यक्षमा अनिलकुमार शा, उद्योगतर्फको उपाध्यक्षमा विकासकुमार बेगवानी र महासचिवमा अनिल शारडा निर्वाचित भए।
संघको सचिवमा संजय श्रेष्ठ र कोषाध्यक्षमा राजेश अग्रवाल छानिएका छन्। संघका निर्वाचित सदस्यमा अमित साराडा , विनित सिंघानिया, मनीष मारु, श्याम राठी , सुशील सुराना, आशीष जाजू, दीपेश सुवेदी, देवाशिष् गोल्छा र पवन राठी छन्।
संघका ८ वटा विभिन्न शाखाबाट उर्लाबारी शाखाका चन्द्र भट्टराई सदस्यमा चुनिएका छन्। अध्यक्ष रिजालले अमित राठी, विवेक अग्रवाल, अरविन्द अग्रवाल र गोपाल अग्रवाललाई संघको कार्यसमितिको सदस्यमा मनोनित गरेका छन्।
त्यस्तै आमन्त्रित सदस्यमा वन्दना जैन र ओमप्रकाश शर्मालाई मनोनित गरिएको छ।
बिहीबार आयोजित पदस्थापन कार्यक्रममा नवनिर्वाचित अध्यक्ष रिजालले सरकारको पुँजीगत खर्च गराउन संघले दबाबमूलक कार्यक्रम गर्ने र मौद्रिक नीतिको स्वःस्फूर्त कार्यान्वयनका लागि जोडदार पहल गरिने बताए।
Facebook Comment
Comment