काठमाडौं । क्यानडाका उपप्रधानमन्त्री तथा अर्थमन्त्री क्रिस्टिया फ्रिल्यान्डले प्रधानमन्त्री जस्टिन ट्रुडोसँगको टकरावपछि राजीनामा दिएकी छन् ।
अमेरिकाका नवनिर्वाचित राष्ट्रपति ट्रम्पले लगाएको सम्भावित ट्यारिफको मुद्दामा यी दुईबीच मतभेद थियो ।
यो राजीनामा ट्रुडोका लागि अप्रत्याशित धक्का मानिएको छ । ट्रुडोले क्यानडामा अल्पमतको सरकार चलाउँदै आएका छन् ।
समाचार एजेन्सी एएफपीका अनुसार लिबरल पार्टीका नेता ट्रुडो पहिले नै सर्वेक्षणमा कन्जरभेटिभ पार्टीका नेता पियरे पोलिभ्रेभन्दा २० प्रतिशतले पछि छन् ।
पोल ट्र्याकरका अनुसार पहिलो पटक प्रधानमन्त्री हुँदा ६३ प्रतिशतले ट्रुडोलाई मन पराउँथे । अहिले उनलाई समर्थन गर्नेको संख्या २८ प्रतिशत मात्रै छ ।
समाचार एजेन्सी रोयटर्सका अनुसार वरिष्ठ क्याबिनेट सहयोगीको राजीनामालाई सन् २०१५ मा सत्तामा आएपछि ट्रुडोका लागि सबैभन्दा ठूलो चुनौतीको रूपमा वर्णन गरिएको छ ।
ट्रुडो मन्त्रिपरिषद्का सदस्यले गरेको यो पहिलो खुला विरोध हो र यो कदमपछि सत्तामा उनको पकड ढिलो हुने सम्भावना छ ।
फ्रिल्यान्डको स्थानमा क्यानडाका सार्वजनिक सुरक्षामन्त्री डोमिनिक लेब्ल्याङ्कलाई अर्थमन्त्री बनाइएको छ ।
फ्रिल्यान्डले उपप्रधानमन्त्री पद छाडेपछि विपक्षी दलहरूले ट्रुडोको राजीनामा मागेका छन् । ट्रुडोका सहयोगी क्यानडाको एनडीपी पार्टीका नेता जगमीत सिंहले पनि प्रधानमन्त्रीको राजीनामा मागेका छन् ।
Facebook Comment
Comment