दोब्बरभन्दा ज्यादा बढ्यो महिला युरोकपको पुरस्कार रकम, विजेताले ५१ लाख युरो पाउने

नेपालभ्युज

दोब्बरभन्दा ज्यादा बढ्यो महिला युरोकपको पुरस्कार रकम, विजेताले ५१ लाख युरो पाउने

लुजान । युरोपेली फूटबल सङ्घ (यूईएफए)ले महिला युरोकप २०२५ प्रतियोगिताका लागि चार करोड १० लाख युरो (चार करोड ३० लाख डलर)को पुरस्कार रकम स्वीकृत गरेको घोषणा गरेको छ । यो रकम अघिल्लो संस्करणको भन्दा दोब्बरभन्दा ज्यादा हो ।

सन् २०२२ मा इङ्ग्ल्यान्डले च्याम्पियन भएको बखत २० लाख ८५ हजार युरो पाएको थियो । अबदेखि विजेता टोलीले ५१ लाख युरो प्राप्त गर्नेछ ।

महिला फूटबलको विकाससँगै महादेशीय प्रतियोगिताका लागि कोष युरो २०१७ पछि पाँच गुणा र इङ्गल्यान्डमा युरो २०२२ मा एक करोड ६० लाख युरो रहेकोमा यो १५६ प्रतिशतले बढेको छ ।

कुल रकमको करिब ७० प्रतिशत संलग्न टोलीहरूलाई वितरण गरिनेछ । टोलीहरूले आफ्ना खेलाडीहरूलाई आफ्नो विनियोजनको ‘३० देखि ४० प्रतिशत’ तिर्नुपर्ने यूईएफएले बताएको छ ।

समूह चरणमा टोलीहरूले बराबरीमा ५० हजार युरो र जितका लागि एक लाख युरो पाउनेछन् भने क्वार्टर फाइनल, सेमिफाइनल वा फाइनलमा पुगेपछि क्रमशः पाँच लाख ५० हजार, सात लाख र आठ लाख ५० हजार युरो प्राप्त गर्नेछन् ।

यूईउफएले सन् २०३० सम्ममा महिला फूटबलमा एक अर्ब युरो लगानी गर्ने आफ्नो अभिप्राय अक्टोबरमा घोषणा गरेको थियो । यसमा आधारभूत स्तर र शीर्ष स्तरका पेशेवर मापदण्ड तथा स्टेडियम उपस्थितिलाई थप बढाउने लक्ष्य राखिएको छ ।

युरोकप २०२५ स्विट्जरल्यान्डमा जुलाई २ देखि २७ सम्म हुनेछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved