आज पुस १ गते : प्रजातन्त्रमाथि ‘कू’ भएको विरोधमा ‘कालो दिवस’ मनाउँदै कांग्रेस

नेपालभ्युज

आज पुस १ गते : प्रजातन्त्रमाथि ‘कू’ भएको विरोधमा ‘कालो दिवस’ मनाउँदै कांग्रेस
बीपी कोइराला ।

काठमाडौं । प्रथम जननिर्वाचित सरकारलाई तत्कालीन शाही नेपाली सेनाको शक्तिको भरमा अपदस्थ गरेको विरोधमा आज (सोमबार) देशभर कालो दिवसका रुपमा मनाइँदैछ ।

विसं २०१७ पुस १ गते तत्कालीन राजा महेन्द्रले प्रजातन्त्रमाथि ‘कू’ गर्दै निरंकुश व्यवस्थाको सुरुवात गरेका थिए । प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइराला लगायतका नेतालाई सेनाको बलमा बन्दी बनाइ उनले पञ्चायती शासन व्यवस्थाको सुरुवात गरेका हुन्  । नेपाल तरुण दलको कार्यक्रममा सहभागी भइरहेका तत्कालीन प्रधानमन्त्री बीपीलगायतका नेतालाई त्यहीँबाट गिरफ्तार गरी तीन महिना सिंहदरबार र त्यसपछि सुन्दरीजलमा बन्दी बनाइएको थियो ।

सुन्दरीजलस्थित नेपाली सेनाको आर्सनलका हाकिमको आवासमा पर्खालले घेरी बीपीलगायतका नेतालाई बन्दी बनाइएको थियो । यही जेलपछि सुन्दरीजल बन्दी गृहका नामले चिनियो । सोही जेलमा बसेर बीपीले ‘श्वेतभैरवी’ कथासङ्ग्रह, ‘मोदीआइन’, ‘बाबु, आमा र छोरा’, ‘सुम्निमा’, ‘तीन घुम्ती’, ‘हिटलर र यहुदी’लगायत उपन्यास रचना गरेका थिए ।

पुस १ गतेको घटनापछि बीपीसँगै तत्कालीन सभामुख कृष्णप्रसाद भट्टराई, मन्त्री एवं पार्टी नेताहरू गणेशमान सिंह, सूर्यप्रसाद उपाध्याय, दिवानसिंह राई, रामनारायण मिश्र, योगेन्द्रमान शेरचन लगायतलाई सुन्दरीजल बन्दीगृहमा थुनिएको थियो । विसं २०६१ भदौ २४ गते बन्दी गृहलाई बीपी सङ्ग्रहालयका रुपमा घोषणा गरी सञ्चालनमा ल्याइएको छ ।

आजको दिन बीपी संस्थापक रहेको पार्टी नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल तरुण दललगायतले प्रजातन्त्रमाथि प्रहार भएको दिनका रुपमा कालो दिवसका रुपमा मनाउँदै आएका छन् । कांग्रेस र तरुण दललगायत अन्य भ्रातृ एवं शुभेच्छुक संस्थाले देशभर विभिन्न कार्यक्रम आयोजना गरी कालो दिवस मनाउन लागेको जनाइएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved