काठमाडौं । उपत्यकाको फोहर व्यवस्थापनमा देखिएका समस्या समाधान गर्न सहरी विकास मन्त्रालयमा आइतबार उच्चस्तरीय छलफल भएको छ ।
उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहको नेतृत्वमा बसेको बैठकमा सरोकारवालाहरूले समाधानका लागि साझा योजना अघि सारेका छन् ।
‘बन्चरेडाँडा स्यानिटरी ल्याण्डफिल साइट सञ्चालनमा सहजता, समन्वय र अनुगमन गर्न गठित उच्चस्तरीय समिति’को बैठकले उपत्यकाको फोहर व्यवस्थापनको नेतृत्व काठमाडौँ महानगरपालिकाले गर्नुपर्ने निष्कर्ष निकालेको छ ।
बैठकमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव राजकुमार श्रेष्ठ, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव भरतमणि सुवेदी, ललितपुर महानगर प्रमुख चिरीबाबु महर्जन, र विभिन्न नगरपालिकाका प्रमुख तथा प्रशासकीय अधिकृतहरू उपस्थिति रहेको थिए ।
बैठकमा बोल्दै उपप्रधानमन्त्री सिंहले उपत्यकाको फोहर व्यवस्थापनमा देखिएका चुनौती समाधान गर्न सबै पक्षले मिलेर अघि बढ्नुपर्नेमा जोड दिए ।
उनले भने, ‘फोहर वर्गीकरण र पुनःप्रयोगको अभ्यासलाई प्राथमिकता दिन आवश्यक छ । मन्त्रालयले आवश्यक सहयोग र समन्वय गर्नेछ ।’
सिंहले ल्याण्डफिल साइटका स्थानीयले राखेका जायज माग समाधान गर्न तीन तहका सरकारबीच सहकार्य आवश्यक रहेको बताउँदै फोहर व्यवस्थापनलाई दिगो बनाउने दीर्घकालीन योजनामा ध्यान दिनुपर्ने बताए ।
सहरी विकास मन्त्रालयका सचिव मणिराम गेलालका अनुसार बैठकमा फोहर ओसार्न वैकल्पिक बाटो निर्माण, ल्याण्डफिल साइटको जग्गा अधिग्रहणको प्रक्रिया अगाडि बढाउने, र कुहिने फोहरबाट मल उत्पादन गर्ने विषयमा छलफल भएको थियो ।
बैठकले उपत्यकामा फोहरको वर्गीकरण, पुनःप्रयोग र उचित व्यवस्थापनका लागि स्थानीय सरकारहरूलाई सक्रिय बनाउँदै राष्ट्रिय नीतिलाई कार्यान्वयनमा ल्याउने निर्णय गरेको छ ।
२०७८ साल फागुनमा गठन भएको उच्चस्तरीय समितिले उपत्यकाको फोहर व्यवस्थापनका लागि ठोस पहल गर्दै स्थानीयका माग सम्बोधन गर्नुपर्नेमा विशेष जोड दिएको छ ।
बन्चरेडाँडा ल्याण्डफिल साइटका स्थानीय समस्याहरू समाधान गर्न दिगो कदम चाल्नुपर्ने प्रस्ताव समितिले अघि सारेको छ । बैठकमा विभिन्न नगरपालिकाका प्रमुखहरूले फोहर व्यवस्थापन प्रक्रियामा देखा परिरहेका व्यवहारिक समस्या र चुनौतीबारे समेत धारणा राखेका थिए ।
Facebook Comment
Comment