नयाँ बसपार्कबाट मात्रै सार्वजनिक बस सञ्चालन गर्ने महानगरको निर्णय कार्यान्वयन भएन

नेपालभ्युज

नयाँ बसपार्कबाट मात्रै सार्वजनिक बस सञ्चालन गर्ने महानगरको निर्णय कार्यान्वयन भएन
फाइल तस्वीर

काठमाडौं । काठमाडौंबाट बाहिरका विभिन्न जिल्लामा सञ्चालन हुने सार्वजनिक बसलाई नयाँ बसपार्कबाट मात्रै सञ्चालन गर्ने काठमाण्डौ महानगरपालिकाको निर्णय कार्यान्वयन हुन सकेको छैन ।

महानगरले अघिल्लो वर्ष जेठ १९ गते सूचना निकालेर असार एक गतेदेखि काठमाण्डौको चक्रपथ वरपरबाट उपत्यकाबाहिर सञ्चालन हुँदै आएका गाडीलाई नयाँ बसपार्कबाट सञ्चालन गर्ने निर्णय गरे पनि यो निर्णय प्रभावकारीरुपमा कार्यान्वयन हुन नसकेको हो ।

पेप्सीकोला, जडीबुटी, मनोहरा करिडोर, कोटेश्वर, तिलगङ्गा, बाग्मती करिडोर, गौशाला, चावहिल, जोरपाटी, धोबीखोला करिडोर, गोँगबु, विष्णुमती करिडोर, माछापोखरी, बालाजु, स्वयम्भू, कलङ्की र बल्खुलगायत चक्रपथ वरपर सडक तथा करिडोरबाट सञ्चालन हुँदै आएका बस नयाँबसपार्कबाट सञ्चालन गर्ने निर्णय गरिएको थियो ।

गोँगबुको विष्णुमती नदी किनारामा रहेको आफ्नै स्वामित्वको एक सय ६१ रोपनी क्षेत्रफलमा फैलिएको नयाँ बसपार्कबाट सार्वजनिक बस सञ्चालन गर्ने भनिएकोमा पालना गर्न अटेरी हुँदै आएको छ ।

महानगरका प्रवक्ता नवीन मानन्धर यातायात व्यवसायीको ‘सिन्डिकेट’का कारण नयाँ बसपार्कबाट सार्वजनिक बस सञ्चालन गर्न समस्या भइरहेको बताए । महानगरले सूचना निकालेपछि काठमाण्डौबाट पोखरा, चितवन, बुटवललगायत क्षेत्रमा सञ्चालन हुने ठूला तथा माइक्रोबस नयाँ बसपार्कबाट सञ्चालन हुन थालेका उनको भनाइ छ ।

नगर प्रहरी प्रमुख राजुनाथ पाण्डे महानगरपालिकाले गरेको सूचना कार्यान्वयनको चरणमा रहेको बताए । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका वरिष्ठ उपाध्यक्ष सरोज सिटौला व्यवसायी र सरकार दुवैलाई सहज हुने ढङ्गले सार्वजनिक गाडी सञ्चालन र व्यवस्थापन हुनुपर्नेमा जोड दिनुहुन्छ । रासस


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved