तीन महिनामा भित्रियो ४ खर्ब ७ अर्ब रेमिट्यान्स, विदेशी विनिमय सञ्चिति २२ खर्ब ३२ अर्ब 

नेपालभ्युज

तीन महिनामा भित्रियो ४ खर्ब ७ अर्ब रेमिट्यान्स, विदेशी विनिमय सञ्चिति २२ खर्ब ३२ अर्ब 

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमासिकमा ४ खर्ब ७ अर्ब रेमिट्यान्स नेपाल भित्रिएको छ । नेपाल राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको वित्तीय विवरणअनुसार साउन, भदौ र असोज महिनामा कुल ४ खर्ब ७ अर्ब ११ करोड रुपैयाँ बराबर रेमिट्यान्स भित्रिएको हो ।

चालु आर्थिक वर्षको पहिलो तीन महिनामा भित्रिएको रेमिट्यान्स गत आवको सोही अवधिको तुलनामा ११.५ प्रतिशत बढी रहेको राष्ट्र बैंकले जनाएको छ ।

त्यस्तै, मुलुकसँग विदेशी मुद्रा सञ्चिति २२ खर्ब ३२ अर्ब रुपैयाँ पुगेको छ । विवरणअनुसार असोजसम्म यस्तो सञ्चिति १६ अर्ब ६० करोड अमेरिकी डलर पुगेको छ ।

असार मसान्तसम्मको तुलनामा विदेशी मुद्रा सञ्चिति ९.४ प्रतिशत बढेको बैंकले जनाएको छ । कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा १९ खर्ब ८८ अर्ब छ । बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक)सँग रहेको विदेशी विनिमय सञ्चिति २ खर्ब ४४ अर्ब २७ करोड पुगेको छ ।

२०८१ असोज मसान्तसम्मको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २१.९ प्रतिशत रहेको छ । हाल कायम रहेको विदेशी मुद्रा सञ्चितिले तीन महिनाको आयातलाई आधार मान्दा १७.६ महिनाको वस्तु आयात र १४.६ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने राष्ट्र बैंकले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved