काठमाडौं। कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ह्वात्तै बढेको छ। शनिबार १६ जनाको मृत्यु भएसंगै मृत्यु सङ्ख्या बढेको हो। अघिल्लो दिन शुक्रबार तीन जना सङ्क्रमितको मृत्यु भएको थियो।
विज्ञहरूले कोरोना सङ्क्रमितको मृत्यु बढ्नुलाई ओमिक्रोन भेरियन्टको प्रभाव भन्न थालेका छन् ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार हालसम्म नेपालमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ६५१ पुगेको छ। हाल नेपालमा कोरोना भाइरसका ओमिक्रोन र डेल्टा दुवै प्रकारको सङ्क्रमण रहेको वरिष्ठ सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनले बताए। उनले हालै पनि दैनिक तीन–चार जना सङ्क्रमितको मृत्यु भइरहेको जानकारी दिँदै शनिबार १६ जना पुग्नुलाई ओमिक्रोनको प्रभाव बढेको हुनसक्ने बताए ।
डा. पुनले ओमिक्रोन प्रकार कडा नभए पनि वृद्ध र खोप नलगाएकालाई त्यसले असर गरिरहेको जानकारी दिए।त्यो वर्गका व्यक्तिमा समस्या कडा हुनसक्ने भएकाले विशेष सावधानी अपनाउन आग्रह गरे।
Facebook Comment
Comment