संकटग्रस्त अफगानिस्तानको बैंकिङ क्षेत्र जुर्मुराउँदै

अफगानिस्तानमा देखिएको आर्थिक संकट न्युनीकरण गर्न संयुक्त राष्ट्रसंघले अन्तर्राष्ट्रिय समुदायसमक्ष आग्रह गरिरहेको छ, उसले बैंकिङ क्षेत्रलाई सहयोग गर्न आग्रह गरेको छ।

नेपालभ्युज

संकटग्रस्त अफगानिस्तानको बैंकिङ क्षेत्र जुर्मुराउँदै

एजेन्सी । अफगानिस्तानमा तालिवानले सत्ता कब्जा गरेयता अर्थतन्त्रमा देखापरेको गम्भीर असरपछि बैंकिङ क्षेत्र फेरि जुर्मुराउन थालेको छ। गत अगस्टको मध्य महिनामा तालिवान समुहले सत्ता कब्जा गरेपछि अमेरिकी सरकारले अफगानिस्तानको करिब १० अर्ब डलरको सम्पत्ति रोक्का गर्दै विदेशी सहायतामा प्रतिबन्ध लगाएको थियो। जसकारण, त्यहाँको कमजोर आर्थिक प्रणाली थप गम्भीर बनेको थियो।

यसबीच अन्तर्राष्ट्रिय बजारमै छताछुल्ल हुनेगरी त्यहाँका जनताले आफ्नो भोक टार्नकै लागि आफ्ना बालबच्चा र किड्नी समेत बेच्न लागेका खबर सार्वजनिक भइरहे। त्यहाँको सामाजिक, आर्थिक, शैक्षिक, प्रशासनिक लगायतका क्षेत्र बन्द भए। बैंकिङ क्षेत्रमा पनि गम्भीर प्रभाव पर्यो।

तर, गत सातादेखि त्यहाँको बैंकिङ बजार बिस्तारै जुर्मुराउन थालेको समाचार स्थानीय सञ्चार माध्यममा छाएका छन्। अन्तर्राष्ट्रिय समुदायले अफगानिस्तानलाई नगद उपलब्ध गराएपछि बैंकिङ क्षेत्रमा तरलता पर्वाह हुन थालेको हो।

तालिवानका कार्यवाहक विदेशमन्त्री आमिर खान मोताकीले त्यहाँको आर्थिक अवस्थामा सुधार आइरहेको बताएका छन्। उनले भनेका छन्, “अफगानिस्तानका बैंकहरूमाथि दिनदिनै दबाब घट्दो छ।”

बैंकिङ क्षेत्रमा तरलता आउन थालेपछि तालिवानको अन्तरिम सरकारले अहिलेसम्म कर्मचारीको तीन महिनाको तलब भुक्तानी गरिसकेको जनाएको छ।

एटीएम सेवा पुनः सुचारू

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार यही जनवरी १६ तारिखदेखि त्यहाँ एटिएम सेवा पनि सुचारु भएको छ। तालिवानले सत्ता कब्जा गरेको तीन महिनापछि त्यहाँ एटिएम शुरु भएको हो।

गत अगस्टमा तालिबानले सत्ता कब्जामा लिएपछि एटीएम सेवाहरू बन्द भएका थिए। तर, अहिले जनताको सुविधाका लागि वाणिज्य बैंकका एटीएम विशेष क्षेत्रमा उपलब्ध भएका छन्। अफगानिस्तानको नयाँ नीति अनुसार एक व्यक्तिले हप्तामा २०० अमेरिकी डलर वा २०,००० अफगानी रकम झिक्न सक्नेछन् ।

अफगानिस्तानको केन्द्रीय बैंकले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “अफगानिस्तान बैंक, बैंकिङ प्रणाली र सेवाहरू सामान्यमा फर्काउन प्रयासरत छ । एटीएमहरू पुनः सक्रिय गर्नाले मानिसहरूलाई थप सुविधा मिल्नेछ।”

राष्ट्रसंघको सहयोग

अफगानिस्तानमा देखिएको आर्थिक संकट न्युनीकरण गर्न संयुक्त राष्ट्रसंघले अन्तर्राष्ट्रिय समुदायसमक्ष आग्रह गरिरहेको छ, उसले बैंकिङ क्षेत्रलाई सहयोग गर्न आग्रह गरेको छ। राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले अफगानिस्तानको केन्द्रीय बैंकलाई तत्काल आर्थिक सहयोग गर्न अन्तर्राष्ट्रिय समुदायलाई आह्वान गरेका हुन्।

“अफगानिस्तानको केन्द्रीय बैंकको कार्यलाई संरक्षित र सहयोग गरिनुपर्छ र अफगान विदेशी मुद्रा भण्डारको सशर्त फुकुवाका लागि मार्ग पहिचान गरिएको छ” गुटेरेसको बयानलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यम स्पुतनिकले लेखेको छ, “हामीले अर्थतन्त्रमा द्रुत रूपमा तरलता इन्जेक्सन गर्न र लाखौंको लागि गरिबी, भोक र विपन्नता निम्त्याउने मन्दीबाट बच्न अझ बढी ध्यान केन्द्रीत गर्नु पर्दछ।”

अन्तर्राष्ट्रिय रूपमा सहयोग नहुँदा त्यहाँको आर्थिक स्थिति बिग्रदैं गएपछि संयुक्त राष्ट्रसंघको विश्व खाद्य कार्यक्रमले पनि त्यहाँ खाद्य सहयोगका लागि १.५ बिलियन अमेरिकी डलर संकलन गरिसकेको जनाइएको छ।

तर, अफगानिस्तानमा अधिकांश स्थानमा हिउँ परेको हुँदा खाद्यान्नलाई आवश्यक स्थानमा पुर्‍याउन गाह्रो परिरहेको संयुक्त राष्ट्रसंघका मानवीय सहायतासम्बन्धी समन्वय कार्यालयका महासचिव स्टेफन डुजारिकले बताएका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved