रवि लामिछानेलाई म्याद थपको लागि अदालत उपस्थित गराइँदै

नेपालभ्युज

रवि लामिछानेलाई म्याद थपको लागि अदालत उपस्थित गराइँदै

पोखरा । पोखराको सूर्यदर्शन सहकारी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई थप अनुसन्धानका लागि आज म्याद थप गराउन अदालत लगिँदैछ ।

थपिएको म्याद आज सकिने भएपछि एकसाथ अदालतमा उपस्थित गराउन लागिने प्रहरी स्रोतले जनाएको छ ।

गोर्खा मिडियामार्फत् सहकारीको रकम अपचलन भएको भन्दै सहकारी ठगी र दुई वा दुईभन्दा बढी समूह मिलेर रकम दुरुपयोग भएको भन्दै रविविरुद्ध सङ्गठित अपराधको मुद्दा लगाइएको छ ।

रविलाई गत  काठमाडौंमा शुक्रबार,  कात्तिक २ गते काठमाडौंबाट पक्राउ गरेर पोखरा ल्याइएको थियो । जिल्ला अदालत कास्कीले आइतबार उनलाई पक्राउ परेको दिनदेखि गणना हुने गरी ६ दिन हिरासतमा राखेर अनुसन्धान गर्न समय दिएको थियो ।

अदालतले दिएको उक्त समयमा अनुसन्धान र बयान पूरा नभएकाले म्याद थप गर्न लागिएको प्रहरीले जनाएको छ । पोखराको सुर्यदर्शन बचत तथा ऋण सहकारी संस्थामा बचतकर्ताले राखेको रकम अवैध रुपमा गोर्खा मिडिया प्रा.लिमा लगेको भन्दै रविमाथि अनुसन्धान थालिएको हो।

लामिछाने गोर्खा मिडियाले चलाएको ग्यालेक्सी टेलिभिजनका पूर्व सञ्चालक तथा प्रवन्ध निर्देशक हुन्।

उता पूर्व डीआईजी छविलाल जोशीलाई पनि आज रविसँगै एकसाथ कास्की जिल्ला अदालतमा उपस्थित गराइँदै छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीमा सूर्यदर्शन सहकारीको रकम गोर्खा मिडिया मार्फत् अपचलन गरेको भन्दै गोर्खा मिडिया प्रालिका पूर्व प्रबन्ध निर्देशक रवि लामिछाने, सञ्चालक छविलाल जोशी सहित १८ व्यक्ति र संस्था विरुद्ध किटानी जाहेरी परेको थियो । यही प्रकरणमा गोर्खा मिडिया प्रालिका तत्कालीन अध्यक्ष जीबी राई भने फरार छन् ।

गोर्खा मिडिया मार्फत सहकारीको रकम अपचलन भएको भन्दै सहकारी ठगी र दुई वा दुईभन्दा बढी समूह मिलेर रकम दुरुपयोग भएको भन्दै रवि र छवि विरुद्ध सङ्गठित अपराधको मुद्दा लगाइएको छ ।

पार्टी सभापति रवि लामिछाने पक्राउ परेपछि रास्वपाले त्यसलाई राजनीतिक प्रतिशोध भनेको छ र सिङ्गो पार्टी पंक्ति पोखरा उतारेर विरोध प्रदर्शन गरिरहेको छ ।

त्यसअघिकै जाहेरीका आधारमा सूर्यदर्शन सहकारीबाट करिब डेढ अर्ब रकम हिनामिना गरेको आरोपमा प्रहरीले गत साल भदौ २४ गते १९ जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो ।

पटकपटक गरेर सूर्यदर्शन सहकारी प्रकरणमा ४४ जनालाई पक्राउ पुर्जी जारी गरेको थियो । शुक्रबार मात्र रवि सहित १४ जना विरुद्ध थप पक्राउ पुर्जी जारी भएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved