बन्यो ‘विपक्षी कार्यदल’, के काम गर्छ ?

नेपालभ्युज

बन्यो ‘विपक्षी कार्यदल’, के काम गर्छ ?

काठमाडौं । विपक्षी दलहरूको बैठकले तीन सदस्यीय कार्यदल बनाएको छ ।

शुक्रबार नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा बसेको विपक्षी दलहरूको बैठकले तीन सदस्यीय कार्यदल बनाएको हो ।

कार्यदलमा नेकपा (माओवादी केन्द्र) का उपमहासचिव शक्तिबहादुर बस्नेत, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य शिशिर खनाल र नेकपा (एकीकृत समाजवादी) का वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डे छन् ।

कार्यदलले मुख्य रूपमा विपक्षी दलहरूको बीचमा समन्वय गर्ने काम गर्ने बताइएको छ । कार्यदलका सदस्य शिशिर खनालले भने, “हाम्रा कदमहरूका रेकर्ड पनि रहने र अझ व्यवस्थित गर्नेगरी यो कार्यदलले काम गर्छ ।”

कार्यदलले सुरुमा सरकारलाई बुझाइने ध्यानाकर्षणपत्रहरू बनाउने खनालले बताए । “अझ विशेषगरी चाहिँ विपक्षी दलहरूको बीचमा समन्वय गरिरहन्छ । जसका कारण हामीलाई सहज हुन्छ,” उनले भने ।

विपक्षी दलहरूले आगामी कात्तिक ५ गते राष्ट्रपति, प्रधानमन्त्री र सभामुखलाई भेटेर गत असोज १० देखि १२ गतेसम्मको विपद्लगायतका विषयमा ध्यानाकर्षणपत्र बुझाउने भएका छन् ।

सरकार अध्यादेश ल्याएर पार्टी फुटाउन लागिपरेको आरोप

यसैबीच बैठकले सरकार अध्यादेश ल्याएर पार्टी फुटाउन लागिपरेको आरोप लगाएको छ ।

सरकार अध्यादेश ल्याएर पार्टीहरू फुटाउने दिशामा अग्रसर भएको देखिएकाले त्यसको प्रतिवाद गर्ने निष्कर्ष निकालिएको बैठकमा सहभागी आम जनता पार्टी (आजपा) का अध्यक्ष प्रभु साहले बताए ।

विपक्षी दलहरूको बैठक ।

बैठकमा सहभागी रास्वपा नेता विराजभक्त श्रेष्ठले पनि प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यादेशबाट काम गर्ने बानी रहेको बताए ।

“संसद् हुँदा पनि उहाँले अध्यादेशबाट काम गर्नुहुन्छ, त्यो यसअघि पनि देखिएकै हो । अबचाहिँ त्यस्तो हुनुहुन्न भन्ने हाम्रो निष्कर्ष रह्यो,” उनले भने ।

  • सम्बन्धित समाचार

सरकारलाई ज्ञापनपत्र बुझाउँदै विपक्षी दलहरू


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved