युवा खेलाडीले देखाएको आशा

पछिल्लो समय आएका युवा पुस्ताले नेपाली क्रिकेटको आशलाग्दो भविष्य देखाएका छन्।

युवा खेलाडीले देखाएको आशा

काठमाडौं। यदि कोभिड बाधक बनेन भने आउँदो महीनाको यही समय नेपालले दोस्रो पटक विश्वकप खेल्ने सपना पूरा गर्न टी–ट्वान्टी विश्वकपको छनोट खेल खेलिरहेको हुनेछ। पारस खड्काको कप्तानीमा नेपालले पहिलो पटक सन् २०१४ को विश्वकप खेलेको थियो। त्यो बेलाको क्रिकेट टिमलाई नेपाली क्रिकेटकै ‘गोल्डेन जेनेरेशन’को रूपमा मानिन्छ।

गत साउनमा पारसले राष्ट्रिय क्रिकेट टिमबाट संन्यास लिएपछि नेपाली क्रिकेटको एउटा स्वर्ण युगको अन्त्य भएको मानिन्छ। नेपाली क्रिकेटले जति पनि प्रमुख उपलब्धि हासिल गरेको थियो पारस एण्ड टिमको गोल्डेन जेनेरेशनुले दिलाएको थियो।

तर पारससँगै त्यो जेनेरेशनका केही पाका खेलाडीहरू जस्तैः शक्ति गौचन, वसन्त रेग्मीले पनि सन्यास लिइसके। अन्य केही अनुभवी खेलाडीहरू पनि चोट, खराब फर्मजस्ता कारणले टिमबाट बाहिरिसके।

हाल राष्ट्रिय टिममा लामो अनुभव भएका खेलाडी सीमित मात्र रहेका छन्। त्यसैले त्यो गोल्डेन जेनेरेसनका पुराना र अनुभवी खेलाडीहरू बिस्तारै टिमबाट हट्दै गएपछि आउँदा दिनमा नेपाली टिमका प्रदर्शन खस्कने त होइन भन्ने शंका थियो।

तर पछिल्लो समय आएका युवा पुस्ताले नेपाली क्रिकेटको आशलाग्दो भविष्य देखाएका छन्। आसन्न विश्वकप छनोट खेल्ने नेपाली राष्ट्रिय टिमका खेलाडी छनोटकै लागि भनेर पहिलो पटक प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितालाई टी–ट्वान्टी फर्म्याटमा खेलाइएको थियो। जुन बुधबार मात्र सकिएको छ।

यो प्रतियोगितामा अनुभवी खेलाडीले भन्दा युवा खेलाडीहरूले धेरै राम्रो प्रदर्शन गरे। जसकै आधारमा दुई युवा ब्याटर लोकेश बम र विवेक यादवले पहिलो पटक राष्ट्रिय टिममा ठाउँ पाएका छन्।

नेपाल क्रिकेट संघ ९क्यान० ले बिहीबार टी–ट्वान्टी विश्वकप छनोट प्रतियोगिता खेल्ने अन्तिम १६ सदस्यीय नेपाली राष्ट्रिय टिमको घोषणा गरेको छ। यसअघि क्यानले ३० जना प्रारम्भिक खेलाडी छानेको थियो।

उक्त प्रारम्भिक टोलिमा लोकेश बमको नाम समावेश थिएन। तर उनले प्रधानमन्त्री कपमा यति प्रभावशाली खेल देखाएकी प्रशिक्षक पुबुदु दासानायके उनलाई सीधै राष्ट्रिय टिममा बोलाउन बाध्य भए।
अन्तिम टिम छनोट गर्नु अघि पुबुदुले भनेका थिए, “टी–ट्वान्टी विश्वकपको छनोटका लागि अनुभवी खेलाडीहरूको आवश्यक्ता पर्छ, त्यसैले हामीले अनुभवी तथा नयाँ खेलाडीहरूलाई पनि मौका दिनेछौ। हालका युवा खेलाडीको प्रतिभाबाट म धेरै प्रभावित भएको छु।”

नेपाली क्रिकेटमा हालसम्मकै आक्रमक ब्याटरको रूपमा उनलाई हेरिएको छ। प्रधानमन्त्री कपमा एपीएफ क्लबलाई उपाधि दिलाउन महत्त्वपूर्ण भूमिका खेलेका उनको आर्मीविरुद्ध सेमिफाइनलको एक विस्फोटक इनिङले नै उनलाई राष्ट्रिय टिममा भित्र्याउन सहज बनायो।

उक्त खेलमा मात्र १४ बलमा अर्धशतक बनाएका उनले १८ बलमा नौ छक्का र दुई चौकाको मद्दतले ६६ रन बनाएका थिए। त्यस्तै उनले बागमती प्रदेशसँगको खेलमा पनि २१ बलमा अर्धशतक पूरा गरेका थिए। मध्यक्रममा ब्याटिङ गर्ने उनले अब टिममा विनोद भण्डारीको ठाउँ प्रतिस्थापन गर्ने देखिन्छ।

त्यस्तै विवेक यादव पनि आक्रमक ब्याटिङ र अलराउण्ड प्रदर्शनको लागि माहिर छन्। उनले नेपाली टिममा पनि फिनिसरको रूपमा खेल्न सक्छन्।

यस अघिका धेरै घरेलु र जुनीयर प्रतियोगिताहरूमा पनि यी ब्याटरहरू, निडर र विस्फोटक ब्याटिङकै कारण चर्चामा थिए। जुन हालको क्रिकेटको आवश्यकता हो। नेपालका अनुभवी ब्याटर शरद भेषवाकर भन्छन्,“जसरी युवा खेलाडीहरू आएका छन् र उनीहरूले जसरी निडर भएर क्रिकेट खेलिरहेका छन्, त्यो ट्रेण्ड नेपाली क्रिकेटमा पहिले थिएन। अहिले त्यो नै ठुलो परिवर्तन देखिएको छ। जहिले पनि हामी टप अर्डरमा चुक्थ्यौँ। अहिले आउँदा प्रतियोगिताका लागि टप अर्डर पनि एकदम बलियो देखिएको छ।”

अघिल्लो वर्षको वैशाखमा नेपालमा नै सम्पन्न टी–ट्वान्टी ट्राई नेशन्स सिरिजमा प्रशिक्षक डेभ ह्वाटमोरले नेपाली क्रिकेटमा नयाँ ओपनिङ जोडिएको प्रयोग गरेका थिए। यु–१९ टिम र घरेलु प्रतियोगिताको प्रदर्शनका आधारमा प्रशिक्षकले दुई युवा खेलाडी आसिफ शेख र कुशल भुर्तेललाई ओपनरको रूपमा मैदानमा उतारे।

उनीहरूको जोडी निकै सफल साबित भयो। ओपनिङ जोडी कै विस्फोटक ब्याटिङको सहयोगमा यो सिरिजमा शुरुआती ब्याटिङ गरेका तिन खेलमा नेपालले २०० प्लसको स्कोर बनायो। साथै नेपालले यो प्रतियोगिताको पनि उपाधि जित्यो।

टी–ट्वान्टीको सफलतासँगै यसपछि एक दिवसीय क्रिकेटमा पनि यो जोडिले राम्रो खेल देखायो। प्रधानमन्त्री कपमा पनि दुई छुट्टा छट्टै टिमको ओपनर रहेका यी दुई मध्ये एपीएफ क्लबका आशिफ शेख प्रतियोगिताको उत्कृष्ट खेलाडी घोषित भए।

उनलेलएपीएफलाई उपाधि दिलाउन प्रतियोगिता भरि खेलेका ६ खेलमा कुल २२७ रन जोडेका थिए। जसमा प्रतियोगिता कै सर्वाधिक ८४ रन पनि सामेल छ। त्यस्तै नेपाल पुलिस क्लबका कुशल भुर्तेल उत्कृष्ट ब्याट्सम्यान घोषित भए। अस्वस्थताका कारण फाइनल र सेमिफाइनल खेल गुमाए पनि चार खेलमा उनले १८२ रन जोडेका थिए।

हालको राष्ट्रिय टिम परेका मात्र होइन, टिममा नपरेका अन्य धेरै युवा खेलाडीको पनि प्रधानमन्त्री कपमा प्रदर्शन तारिफ योग्य थियो। पुबुदु भन्छन्,“यसअघि म नेपालमा रहेको बेलामा भन्दा हाल धेरै युवा खेलाडीहरू आइरहेका छन्। कतिपय युवा खेलाडीहरू राष्ट्रिय टिमबाट खेल्नका लागि तयार भइसके भने केहीलाई टिममा बोलाउन अझ केही समय कुर्नुपर्छ।”

यस पटक राष्ट्रिय टिममा नपरे पनि राम्रो सम्भावना देखाएका खेलाडी देव खनाल हुन्। लुम्बिनी प्रदेशका उनले प्रधानमन्त्री कपमा चार खेल मात्र खले पनि दुई अर्धसतक सहित कुल १५८ रन जोडेका थिए। उनले गण्डकी विरुद्ध मात्र २६ बलमा सवार्धिक ५६ रन जोडेका थिए।

त्यसैगरि बलरतर्फ लुम्बिनी प्रदेश कै अनिल खरेल अर्का भविष्यका स्टार खेलाडी हुन सक्छन्। उनले पनि खेलेका चार खेलमा कुल १० विकेट लिँदै प्रतियोगिताको उत्कृष्ट बलरको उपाधि जितेका थिए। उनले प्रदेश दुई विरुद्धको खेलमा मात्र १३ रन दिएर पाँच विकेट र गण्डकी विरुद्ध ४ विकेट लिएका थिए।

उता फाइनलको उत्कृष्ट खेलाडी बनेका एपीएफ क्लबका किशोर महतो पनि अर्का होनहार युवा बलर हुन। उनले फाइनल खेलमा चार ओभर बलिङ गर्दै मात्र १७ रन दिएर तिन विकेट लिएका थिए भने प्रतियोगिता भरि कुल १० विकेट झारेका थिए।

नेपाली क्रिकेटमा विपक्षीलाई पराजित गर्न बलिङ सधैँ प्रमुख हतियार हो। तर त्यसको ठिक उल्टो ब्याटिङ सधैँ टाउको दुखाइको विषय। प्रायः खेलमा नेपाली ब्याटर धेरै समय क्रिजमा टिक्न नसक्ने र टिके पनि स्लो रनरेटमा ब्याटिङ गर्ने समस्या थियो।

हालको आधुनिक क्रिकेट भनेको विस्फोटक ब्याटिङको पर्याय बनिसकेको छ। टी–ट्वान्टीमा २०० र एक दिवसीय खेलमा ३०० को स्कोर सामान्य भइसक्यो। त्यसैले अब पहिलेको जस्तो बलिङ मात्र राम्रो गरेर खेल जित्ने अवस्था छैन।

यसका लागि आक्रमक ब्याटिङको आवश्यकता पर्छ। हाल जुनियर टिमबाट आएका धरै खेलाडीहरूले यसरी नै आक्रमक खेल खेल्न सक्ने संकेत गरेका छन्। यस हिसाबले नेपाली क्रिकेटको भविष्य सायद सहि हातमा देख्न सकिन्छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved