काठमाडौं । क्रिकेटर सन्दीप लामिछाने हाल नेपालमै छन् । नेपाली टोली भने आईसीसी क्रिकेट वर्ल्ड कप लिग–२ प्रतियोगिताअन्तर्गतको शृङ्खला खेल्न अमेरिकामा छ ।
अमेरिकाको भिसा नमिलेको कारण सन्दीप क्यानडाबाट नेपाल आएका हुन् । नेपालबाटै भिसा प्रक्रिया अघि बढाउनुपर्ने भएको उनी यता आएका हुन् ।
यसै विषयलाई मध्यनजर गर्दै उनले सामाजिक सञ्जालमा एक पोस्ट गरेका छन् । जसमा भनिएको छ, ‘नियन्त्रण बाहिरको परिस्थिति’ । यसबाट अनुमान गर्न सकिन्छ कि उनले अझै पनि भिसा पाएका छैनन् ।
सन्दीपले आफूविरुद्ध लागेको जबरजस्ती करणी मुद्दामा भने उच्च अदालत पाटनबाट सफाइ पाइसकेका छन् । महान्यायाधिवक्ताको कार्यालयले पनि उच्च अदालत पाटनको निर्णयविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन नगर्ने बताइसकेको छ ।
तर, अमेरिकी दूतावासले भने सन्दीपलाई अझै पनि भिसा दिन अस्वीकार गरेको छ । सन्दीपले आईसीसी क्रिकेट वर्ल्ड कप लिग–२ अन्तर्गतको शृङ्खला खेल्न क्यानडा प्रस्थान गर्नुभन्दा निकैअघि अमेरिकी दूतावासमा भिसाका लागि आवेदन गरेका थिए ।
तर, अमेरिकी दूतावासमा सन्दीपले गरेको भिसा आवेदन अझै पनि ‘होल्ड’मा छ ।
Facebook Comment
Comment