ओलीको बचाउमा पोखरेल- अङ्ग्रेजी नआएर प्रधानमन्त्रीले ‘डाँफेज’ र ‘गैंडाज’ भन्नुभएको होइन

नेपालभ्युज

ओलीको बचाउमा पोखरेल- अङ्ग्रेजी नआएर प्रधानमन्त्रीले ‘डाँफेज’ र ‘गैंडाज’ भन्नुभएको होइन

काठमाडौं । सत्तारूढ दल नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले अङ्ग्रेजी शब्द नआएर ‘फाँडेज’ र ‘गैंडाज’ शब्द प्रयोग नगरेको जिकिर गरेका छन् ।

शुक्रबार आफ्नो आधिकारिक फेसबूक ह्यान्डलमा लेख्दै महासचिव पोखरेलले यस्तो बताएका हुन् ।

“प्रधानमन्त्रीले अङ्ग्रेजी भाषणमा डाँफेज र गैंडाज शब्द प्रयोग गर्नुभएको सन्दर्भमा सामाजिक सञ्जालमा प्रधानमन्त्रीलाई ती शब्दको अङ्ग्रेजी नआएको भनेर उडाउने प्रयास भइरहेको छ । त्यस विषयमा सामाजिक सञ्जालमा एक प्रकारको बहससमेत चलाउने प्रयास भइरहेको छ,” महासचिव पोखरेलले भनेका छन् ।

उनले थपे, “प्रधानमन्त्रीले केही समय पहिले नेपालमा नै अङ्ग्रेजी माध्यममा पढ्ने विद्यार्थीहरूलाई सम्बोधन गर्ने क्रममा नै डाँफे र गैडालाई अङ्ग्रेजीमा समेत नेपाली नामबाटै सम्बोधन गर्नु उचित हुने विषय उठाउनु भएको थियो । उहाँको अमेरिका भ्रमणका सन्दर्भमा प्रयोग गरिएको सो शब्दलाई सोही परिप्रेक्षमा बुझ्नु पर्दछ ।”

प्रधानमन्त्री ओलीले प्रयोग गरेका उक्त शब्दहरूले मान्यता पाइहाल्छ नभएको उल्लेख गर्दै उनले भनेका छन्, “तर, ज्ञान सिद्धान्त निर्माणमा पश्चिमाकरणको मान्यता मात्र ठीक भन्ने बौद्धिक मत उचित होइन । विश्वज्ञान सिद्धान्तको विकासमा एसियाली दृष्टिकोण आवश्यक छ भन्ने सत्यलाई बुझ्नु पर्दछ र त्यसलाई स्थापित गर्न निरन्तर प्रयास गर्नु पर्दछ ।”

यसअघि प्रधानमन्त्री ओलीले संयुक्त राष्ट्रसङ्घको ७९ औं महासभामा भाग लिन अमेरिका गएका बेला प्रधानमन्त्री ओलीले कोलम्बिया विश्वविद्यालयले आयोजना गरेको अन्तर्क्रिया कार्यक्रममा ‘गैंडाज’ र ‘डाँफेज’ शब्द प्रयोग गरेका थिए । यसपछि उनलाई सामाजिक सञ्जालमा बिल्ला गरिएको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved