रसुवामा सुक्खा पहिरोले कन्टेनर डिब्बामा क्षति

नेपालभ्युज

रसुवामा सुक्खा पहिरोले कन्टेनर डिब्बामा क्षति

रसुवा । जिल्लाको टिमुरेभन्दा दक्षिण तातोपानीनजिक रोकिएर राखिएका आठ वटा कन्टेनर डिब्बामा सुक्खा पहिरोले क्षति भएको छ । केरूङतर्फ सामान लिन जान पालो कुरेर रोकी राखिएका ती कन्टेनर डिब्बामा मंगलबार राति आएको पहिरोले क्षति पुर्‍याएको हो ।

भारी वर्षाले अवरूद्व स्याफ्रुबेँसी–रसुवागढी खण्डको सडक मंगलबार खुलेसँगै केरूङमा सामान लिन गएका ती कन्टेनर डिब्बा केरूङतर्फको भूभागमा सडक बन्द भएको जानकारी पाएपछि पार्किङ अभाव अभावका कारण सडक छेउमा राखिएको थियो ।

चिनियाँ भू–भागको केरूङ रसुवागढीबीच भागका पहिरोले सडक पूर्ण क्षति भएपछि उक्त खण्ड पुनः सञ्चालनका लागि करिब ४०–४५ दिन लाग्ने रसुवाका प्रमुख जिल्ला अधिकारी बेदनिधि खनाललाई केरूङ प्रशासनले जानकारी गराइसकेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख केशव भट्टराईले जानकारी दिए ।

रोकेर राखिएका कन्टेनरका डिब्बामा क्षति भएपछि पार्किङ गरेर राखिएका अन्य कन्टेनर आ–आफ्ना घरतर्फ फर्काउन सबै सवारी धनीलाई अनुरोध गरिएको जिल्ला प्रहरी प्रमुख भट्टराईले जानकारी दिए । यसअघि पहिरोले अवरुद्ध भएको सडक मंगलबार सञ्चालन भएपछि केरूङ जानका लागि ४० वटा कन्टेनर टिमुरे क्षेत्रमा प्रवेश गरेका प्रहरीले जनाएको छ ।

स्याफ्रुबेँसी, टिमुरेको तातोपानी, टिमुरे घट्टेखोला क्षेत्रको भूभाग कमजोर भएकाले पहिरोको जोखिम उच्च रहेको भन्दै सामान बोकी आएका मालवाहक कन्टेनर भन्सार हातामा मात्र राख्न रसुवा जाने सबै चालकलाई अनुरोध गरिएको प्रहरी प्रमुख भट्टराईले बताए ।

सुरक्षित पार्किङको अभाव भएका टिमुरे, रसुवागढी क्षेत्रमा केरूङतर्फको सडक नखुलेसम्म स्याफ्रुबेँसीबाट सवारीसाधन कहिन नलैजान अनुरोध गरिएको उनले उल्लेख गरे ।

यसैबीच, केरूङबाट दशैंका लागि आवश्यक पर्ने दैनिक उपभोग्य वस्तुसहित कपडा बोकेर आएका दुई सय कन्टेनर भन्सार हातामा रहेका प्रमुख भन्सार अधिकृत तुलसीप्रसाद भट्टराईले जानकारी दिए । ती कन्टेनरका सामग्री यथाशीघ्र काठमाडौं पठाउने तयारी भएको जनाउँदै विद्युत् अभावले जाँचपास गर्न समस्या भइरहेको उनले बताए । रासस


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved