काठमाडौं । लद्दाखी अभियानकर्ता सोनाम वाङ्गचुक नेतृत्वको जलवायू मार्चलाई भारत सरकारले राजधानी दिल्ली प्रवेश गर्न रोक लगाएको छ ।
दिल्लीको सीमाना पुग्न १ घन्टा दुरीमा सोमबार साँझ वाङ्चुकलगायत १५० जनालाई पक्राउ गरी स्थानीय थानामा राखिएको छ ।
भारत सरकारले भने हरियाणा र जम्मुकश्मिर विधान सभाको चुनावलाई दृष्टिगत गरी सुरक्षा जोखिमका कारणले मार्चलाई दिल्ली प्रवेश गर्न रोक लगाउनु परेको जनाएको छ ।
वाङ्चुक लगायतका सहभागीले ठीक एक महिना अगाडि सेप्टेम्बर १ मा लद्दाखको लेहबाट पैदल यात्रा सुरु गरेका थिए । १ हजार किलोमिटर लामो पैदल यात्रा १ महिनामा पूरा गरी अक्टोबर २ मा राजघाटमा महात्मा गान्धीको समाधिस्थलमा श्रद्धाञ्जली अर्पण गरी आफ्ना माग संघीय सरकारलाई बुझाउने उनीहरुको योजना थियो ।
तर, सरकारले भने अक्टोबर १ देखि ५ तारिखसम्मका लागि प्रदर्शनमा रोक लगाएको छ ।
सोमबार साँझ सामाजिक संजालमा लेख्दै वाङ्गचुकले जलवायू मार्चमा सामेल आफूलगायत १५० जनालाई बन्दी बनाइएको जनाएका थिए । सामाजिक सञ्जाल एक्समा उनले भनेका छन्–‘म र १५० जनालाई बन्दी बनाइएको छ । हाम्रो नियति अज्ञात छ । हामी बापुको समाधिसम्म शान्तिपूर्ण मार्च गर्दै थियौं, विश्वको सबैभन्दा ठूलो लोकतन्त्रमा, हे राम !’
उनलाई हरियाणा सिंगु सीमा इलाकाको बवना प्रहरी थानामा राखिएको छ ।
वाङ्गचुकले लद्दाखी स्वायत्तता र हिमालय क्षेत्रमा विश्व जलवायू परिवर्तनको प्रभाव न्यूनिकरणका मुद्दालाई लिएर लामो समयदेखि अभियान चलाउदै आएका छन् । उनले लद्दाखलाई पूर्ण प्रदेश बनाइनु पर्ने माग गर्दै आएका छन् ।
संविधानको धारा ३७० को खारेजीपछि भारत सरकारले लद्दाखलाई केन्द्रशासित क्षेत्र बनाएको छ भने जम्मु कश्मीरमा ३७० खारेजपछिको पहिलो विधानसभा निर्वाचन भइरहेको छ ।
वाङचुक अभियानको अर्को ठूलो मुद्दा हिमालय क्षेत्रमा विश्व तापमान बृद्धि र जलवायू परिवर्तनका प्रभाव न्यूनिकरण तथा समायोजनका लागि भारत सरकार र विश्वको ध्यानाकर्षण गराउनु हो ।
Facebook Comment
Comment