गोल्यान समूहको ‘ट्रिकोट’ले एकवर्षमै निर्यात गर्‍यो १ अर्ब १७ करोडको तयारी पोशाक

९ अर्बको बजारमा एकसय कम्पनीलाई पछि पार्दै ट्रिकोट इन्डस्ट्रिज पहिलो

नेपालभ्युज

गोल्यान समूहको ‘ट्रिकोट’ले एकवर्षमै निर्यात गर्‍यो १ अर्ब १७ करोडको तयारी पोशाक

काठमाडौं । ट्रिकोट इन्डस्ट्रिज प्रालिले एकवर्षमै १ अर्ब १७ करोड रुपैयाँ बराबरको तयारी पोशाक विभिन्न देशमा निर्यात गरेको छ।

नेपालबाट बर्सेनि ९ अर्ब रुपैयाँ हाराहारीको तयारी पोशाक निर्यात हुनेमा ट्रिकोटले मात्रै १ अर्ब १७ करोड रुपैयाँ बराबरको तयारी पोशाक निर्यात गरेको हो ।

एकसय कम्पनीहरू तयारी पोशाकको सक्रिय निर्यातमा रहेकोमा गोल्यान ग्रुपअन्तर्गतको कम्पनीले सबैभन्दा धेरै निर्यात गरेको हो ।

गोल्यान ग्रुपअन्तर्गत रहेको एक हिस्सा ट्रिकोट इन्डस्ट्रिज कम्पनी हो। पारिवारिक विरासतसमेत बोकिरहेको कम्पनी ६० वर्षभन्दा बढी समयदेखि नेपालको कपडा उद्योगमा सक्रिय छ ।

ट्रिकोटका रुपमा कम्पनी स्थापना भएको नै १८ वर्ष पुगिसकेको छ। ट्रिकोटले स्थापनासँगै युरोप, अमेरिकासहितका देशमा तयारी पोशाक निर्यात गर्दै आएको छ। कम्पनीले खासगरी विलासी मानिने उत्पादनहरू निर्यात गर्ने गरेको छ ।

ऊन, रेशम, लिनेन र सयप्रतिशत जैविक कपाससहित विभिन्न सामग्रीबाट कपडा उत्पादन गर्दै आएको कम्पनीले जनाएको छ ।

आफूहरूले गुणस्तरमा सम्झौता नगर्ने कम्पनीले जनाएको छ । बजारमा निरन्तर हुने परिवर्तन र त्यससँगै आउने आवश्यकतालाई समायोजन गर्दै विविधीकरणमा ध्यान दिएको दाबी ट्रिकोटको छ ।

ट्रिकोटले ग्राहकले अर्डर गरेका उत्पादनहरू एकहप्ताभित्र डेलिभर गर्ने सेवा दिँदै आएको छ । यसमा न्यूनतम अर्डर एकसय पिस लिँदै आएको कम्पनीले जनाएको छ ।

ट्रिकोटले भारतबाहेक युरोप, बेलायत, क्यानडा, जापान, अष्ट्रेलिया, न्युजील्याण्ड र अमेरिकामा सामान निर्यात गर्दै आएको छ ।

ट्रिकोट कम्पनीले आफ्ना उत्पादनहरू कारखानाबाट निस्कनुअघि विभिन्न १६ चरणमा त्यसको जाँच गरेर गुणस्तरीय काम गरिरहेको जनाएको छ । नेपालमा अटोस्वेट प्रयोग गर्ने एकमात्र कम्पनी भएको दाबीसमेत ट्रिकोटको रहेको छ ।

औद्योगिक घराना गोल्यान समूह पछिल्लो समय ऊर्जा क्षेत्रको लगानीमा समेत आक्रामक देखिएको छ ।

गोल्यान समूहले झन्डै एक दर्जन आयोजनामार्फत ९ सय ९१ मेगावाटभन्दा बढी विद्युत उत्पादन गर्न अनुमति लिएर निर्माणको प्रक्रिया अगाडि बढाउँदै छ। जसका लागि समूहले झन्डै २ खर्ब रुपैयाँ लगानी गर्दै छ ।

अर्पाटमेन्ट निर्माण, इन्स्योरेन्स, बैंक वित्तसहित कृषि क्षेत्रमा समेत लगानी गरिरहेको गोल्यान समूहले ऊर्जामा लगानीलाई विस्तार गरिरहेको छ ।

समूहले अहिले ऊर्जाअन्तर्गत सौर्य र जलविद्युत दुवैतर्फ लगानी बढाउन लागेको हो। गोल्यान समूहले धागो उद्योगमा समेत करोडौँ लगानी गरिरहेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved