‘जोङ्ग’ गुफा, जसले प्राचीन सभ्यताको झल्को दिन्छ !

नेपालभ्युज

‘जोङ्ग’ गुफा, जसले प्राचीन सभ्यताको झल्को दिन्छ !

काठमाडौं । चारैतिर नाङ्गो र सुख्खा पहाड, पहाडको भित्तामा प्वाल । फेदीको प्वालबाट छिरेपछि तला चढ्दै पहाडको टुप्पोमा पुगिन्छ । तलापिच्छे धुँवाले कालो भएका कोठा । कोठामा बक्ति बाल्ने, सामग्री भण्डारण गर्ने ठाउँ तथा विभिन्न कलाकृति । यहाँ आउँदा जोकोही मोहित हुन्छन् ।

यस्तो अनौठो तर आकर्षक गुफा हो, मुस्ताङको लोमान्थाङ गाउँपालिका–१ मा रहेको ‘जोङ’ गुफा । लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टसी नर्बु गुरुङकानुसार परापूर्वकालमा यस गुफामा मानव बस्ति थियो, त्यसैले प्राचिन मानव सभ्यता झल्काउने सङ्केत अहिले पनि देख्न सकिन्छ ।

‘गुफाभित्र रहेका सामग्री र अग्रजको भनाइअनुसार दुई हजार वर्ष पहिले बस्ती विकास हुनुअघि यस गुफामा मानिस बसेका थिए’, उनी भन्छन्, ‘प्राचीन मानव सभ्यताको झल्को दिने यो गुफा पछिल्लो समय स्वदेशी तथा विदेशी पर्यटकका लागि आकर्षणको केन्द्र बनेको छ ।’

समुन्द्रि सतहदेखि तीन हजार ७८५ मिटर उचाइमा अवस्थित जोङ गुफाका नामले चिनिने यस गुफालाई स्थानीयले ‘सिजा जोङ’ भन्छन् । भुइँसहित छ तला रहेको यस गुफामा करिब ५० वटा कोठा छन् ।

हरेक तलाको बीच भागमा बाटो र दायाँबायाँ कोठा छन् । एउटा तलादेखि अर्को तलामा उक्लने भर् याङ छ । गुफाका हेरालु छिरिङ गुरुङले पर्यटकीय याममा दैनिक ५० जनाभन्दा बढीले गुफा अवलोकन गर्ने गरेको बताए । असोज, कात्तिक, चैत, वैशाख र जेठ महिनामा यहाँ पर्यटकको चहलपहल हुन्छ ।

‘यो गुफामा कहिले मानिस बसे भन्ने आधिकारिक तथ्य र प्रमाण हामीसँग छैन’, उनले भने, ‘परापूर्वकालमा दुस्मनबाट बच्नका लागि पनि एकैठाउँमा गाउँभरिका सबै परिवार बस्नका लागि यो गुफा प्रयोग गरेको बाबु बाजेले सुनाउनुहुन्थ्यो ।’

किंवदन्तीअनुसार परापूर्वकालमा तिब्बती समूहले छोसेरमा आक्रमण गर्दा त्यहाँका बासिन्दा गुफामा गएर लुकेर बसेका थिए । आक्रमणकारी समूहले पानीको मुहान थुनिदिए छन् तर गाउँलेले विवेक प्रयोग गरी सो समूहलाई त्यहाँबाट लखेटेपछि त्यसको प्रतिकारमा आतंककारी समूहले गुफाभरि तेल पोखिदिएको थियो । त्यसैकारण अचेल पनि गुफाभित्रको भागमा तेल पोखिएजस्तो देखिन्छ ।

गाउँलेले आतंककारी समूहलाई भगाएपछि त्यसको सुरक्षाका लागि चट्टानमा ससाना गुफा बनाइ त्यसैमा लुकेर सुरक्षा दिन थालेका र त्यसको अवशेष अहिलेसम्म पनि रहेको भन्ने गरिएको स्थानीय सोनु टसीले बताए । मुस्ताङमा रहेका अन्य गुफाभन्दा सिंजा जोङ ठूलो र फरक पहिचान भएको गुफा मानिने उनले बताए ।

यहाँस्थित व्यवस्थापन समितिले गुफासहित निफु र गर्फु गुम्बाको अवलोकनका लागि विदेशी पर्यटकसँग रु एक हजार तथा स्वदेशी पर्यटकसँग १०० रुपैयाँ शुल्क लिने गरेको छ । गुफामा रहेका सामग्रीलाई संरक्षण गरेर राखिएका छन् ।

तनहुँको शुक्लागण्डकी नगरपालिकाको दुलैगौडाबाट आएका सन्देश भट्टराईले गुफा अवलोकन गर्दा ढुङ्गे युगको जस्तो कल्पना भएको प्रतिक्रिया दिए । ‘बाहिरबाट हेर्दा सामान्य लागे पनि भित्र पस्दा अनौठो र आश्चार्य लाग्यो’, उनले भने, ‘परापूर्वकालमा मानिसको बसाइँ कस्तो थियो भन्ने झल्को यो गुफाले दिन्छ ।’

लोमान्थाङ गाउँपालिकाले पर्यटकको सहजताका लागि अत्यावश्यक पूर्वाधार बनाएको छ । गुफा परिसरमा सार्वजनिक शौचालय र प्रतिक्षालय भवन निर्माण गरेको अध्यक्ष टसी नर्बु गुरुङले बताए ।

‘जोङ गुफाको संरक्षण र आम्दानीलाई व्यवस्थित गरी सोही ठाउँको प्रवर्धनमा परिचालन गर्न स्थानीयसँग छलफल भए पनि निष्कर्षमा पुग्न सकिएको छैन’, उनले भने, ‘जमिनदेखि पहाडको भित्तामा रहेका गुफामा पुग्ने पक्की र तला उक्लने काठको भर्‍याङ पनि गाउँपालिकाले नै बनाएको छ ।’

बेनी–जोमसोम–कोरला सडकको लोमन्थाङ नेचुङ खण्डदेखि जोङ गुफाको परिसरसम्म गाडीमा पुग्न सकिन्छ । चीन र नेपालको सिमानामा रहेको कोराला नाका जाने अधिकांश पर्यटकले यो गुफा अवलोकन गर्छन् ।

यसरी अवलोकनका लागि आउनेहरूले यहाँ राखिएको पुस्तिकामा अवलोकनपश्चात अर्कै संसारमा पुगेको अनुभूति हुने गरेको विचार व्यक्त गरेका छन् । कतिपयले आश्चर्यजनक प्राकृतिक सम्पदा’ भनेर आफ्ना विचार व्यक्त गरेका छन् । यस गुफाबारे अनुसन्धान गरी ऐतिहासिक महत्त्व र तथ्यको पहिचान तथा तिनको संरक्षण गरिनुपर्ने स्थानीयको माग छ ।

यसो गर्नसकेमा आन्तरिक तथा बाह्य पर्यटक भित्र्याएर आम्दानीमा समेत हुने सम्भावना छ । हाल भइरहेको आम्दानीलाई पनि गाउँपालिकाले सङ्कलन र परिचालन गरी सोहीअनुसार गुफाको संरक्षण, विकास र प्रवर्धनमा लाग्नुपर्नेमा धेरैको जोड छ । रासस


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved