समुद्रको पिँधमा रहेको टाइटानिकको भग्नावशेषबारे नयाँ खुलासा, ध्वस्त हुँदैछ बहुचर्चित रेलिङ

अब नयाँ अन्वेषण अभियानले जहाजको रेलिङको यस भागमा भइरहेको परिवर्तनलाई उजागर गरेको छ । यसअनुसार जहाजको रेलिङको ठूलो हिस्सा ध्वस्त भएको छ ।

नेपालभ्युज

समुद्रको पिँधमा रहेको टाइटानिकको भग्नावशेषबारे नयाँ खुलासा, ध्वस्त हुँदैछ बहुचर्चित रेलिङ

काठमाडौं । टाइटानिकको भग्नावशेष देख्नेबित्तिकै पहिचान गर्न सकिने तस्वीर हो, जहाजको अगाडिको भाग  । यो एट्लान्टिक महासागरको गहिराइमा छ ।

अब नयाँ अन्वेषण अभियानले जहाजको रेलिङको यस भागमा भइरहेको परिवर्तनलाई उजागर गरेको छ । यसअनुसार जहाजको रेलिङको ठूलो हिस्सा ध्वस्त भएको छ ।

एक निजी कम्पनीले रोबोटिक साधनको सहयोगमा यसबारे जानकारी बाहिर ल्याएको हो ।

यदि तपाईंले फिल्म टाइटानिक हेर्नुभएको छ भने पक्कै याद गर्नुहुनेछ जुन दृश्यमा ज्याक (लियोनार्डो डिक्याप्रियो) र रोज (केट विन्सलेट) रेलिङमा उभिएर पोज दिन्छन्, जुन पछि स्मरणीय बन्यो।

यस समर सिजनमा एक रोबोटले रेलिङको फोटो खिचेर छालहरू मुनि १०० भन्दाबढी वर्षपछि भग्नावशेष कसरी परिवर्तन हुँदैछ भनेर खुलासा गर्‍यो।

वास्तवमा यो जहाज अप्रिल १९१२ मा आइसबर्गसँग ठोक्किएपछि डुबेको थियो । यसमा १५०० जनाको मृत्यु भएको थियो।

आरएमएस टाइटानिक कम्पनीका निर्देशक टोमासिना रेले भने, ”टाइटानिकको अगाडिको भाग निकै प्रसिद्ध र लोकप्रिय छ । समुद्रमा चट्टानमा ठोक्किएर जहाज ध्वस्त हुने वा आँधीमा फसेर डुबेको घटनाको बारेमा सोच्दा तपाइको दिमागमा टाइटानिक जस्तो दृश्य आउँछ । तर, अहिले त्यस्तो देखिँदैन ।”

जहाज दुर्घटनामा के परिवर्तन भयो ?

टोमासिना रे भन्छन्, “यो हरेक दिन भइरहेको क्षतिको अर्को चेतावनी हो । मानिसहरू सधैं सोध्छन्- टाइटानिक कहिलेसम्म रहन्छ ? हामीलाई यो थाहा छैन। तर, हामी अहिले देख्न सक्छौं। वास्तवमा एक समयपछि धातु पनि आफ्नो बल गुमाउन थाल्छ र अन्ततः बिलिन हुन्छ ।’

करिब ४.५ मिटर (१४.७ फिट) लामो रेलिङको खण्ड विगत दुई वर्षभित्र खसेको टोलीको विश्वास छ।

वास्तवमा सन् २०२२ मा गहिरो समुद्री म्यापिङ कम्पनी मिजालिन र वृत्तचित्र निर्माता एट्लान्टिक प्रोडक्सनले एउटा अभियान सुरु गरेको थियो।

यी तस्वीरहरू र डिजिटल स्क्यानहरू सोही अभियानको खोजको हिस्सा हुन् । पहिले यी रेलिङहरू एकअर्कासँग जोडिएको देखाइएको थियो। तर, अहिले विस्तारै नष्ट हुन थालेका छन् ।

अरु के-के जानकारी बाहिर आयो ?

३८०० मिटर तल गएर समुन्द्रमा हराएको जहाजको यो मात्र भाग होइन । सूक्ष्मजीवहरूले दशकौंदेखि बाँकी भागहरू नष्ट गर्दै आएका छन्। खियाको तहले केही भाग ढाकेको छ।

अघिल्लो खोजी कार्यहरूले टाइटानिकका केही भागहरू भत्किएको पत्ता लगाएको छ । यसअघि सन् २०१९ मा भिक्टर भेस्कोभो पनि खोज अभियानको क्रममा समुद्रको तल पुगेका थिए ।

सो क्रममा जहाजमा बनेका अफिसर क्वार्टर र कोठाहरु ध्वस्त भई तल खसेको पाइएको थियो । आरएमएस टाइटानिक कम्पनीको यो अभियान यस गर्मीमा जुलाई र अगस्ट महिनामा चलाइएको थियो।

यस अवधिमा दुईवटा टाढाबाट सञ्चालित रोबोटिक सवारी साधनले जहाज भत्किएको २० लाखभन्दा बढी तस्वीर र २४ घण्टाको एचडी फुटेज लिए । जहाज डुबेका कारण रेलिङ भाँचिएको र वरपर फोहोर परेको देखाएको छ ।

कम्पनीले अब यो फुटेजलाई ध्यानपूर्वक हेरिरहेको छ, ताकि जहाजको सम्पूर्ण भग्नावशेषको विस्तृत थ्रीडी स्क्यान तयार गर्न सकियोस् । यो काम सकिएपछि थप तस्वीर खुल्ने छन् ।

भग्नावशेषमा वर्षौं पुरानो अमूल्य मुर्ति फेला

टोलीले अभियानको क्रममा फेला पार्ने सूचीमा रहेको कलाकृति फेला पारेको दाबी गरेका छन् । धेरै कठिनाइ पछि यो मूर्ति पत्ता लागेको बताइएको छ ।

कास्यको मूर्ति सन् १९८६ मा देखिएको थियो र यसको फोटो रोबर्ट ब्यालार्डले खिचेका थिए । यो मूर्तिलाई भर्साइलको डायना भनिन्थ्यो । यो एक वर्षअघि टाइटानिकको भग्नावशेषमा फेला परेको थियो । यद्यपि, यसको स्थान पत्ता लगाउन सकिएन र ६० सेन्टिमिटर अग्लो आकृति फेरि कहिल्यै देखिएन । तर, अहिले त्यो भग्नावशेषमा फेला परेको छ ।

टाइटानिकका अनुसन्धानकर्ता र विटनेस टाइटानिक पोडकास्टका प्रस्तोता जेम्स पेन्काले भने, ‘यो घाँसको ढिस्कोमा सुई फेला पार्नु जस्तै थियो र यो वर्ष फेरि फेला पार्नु सबैभन्दा महत्त्वपूर्ण थियो।’

यसलाई एक पटक टाइटानिकका प्रथम श्रेणीका यात्रुहरूको अगाडि प्रदर्शनमा राखिएको थियो।

जेम्स पेन्काले भने, ‘टाइटानिकको सबैभन्दा सुन्दर र सबैभन्दा ठूलो कोठा फर्स्ट क्लास लाउन्ज थियो। त्यो कोठाको मुख्य आकर्षण भर्सेलको डायना थियो । तर, दुर्भाग्यवश, जब टाइटानिक दुई टुक्रा भयो र डुब्दै थियो, लाउन्ज पनि दुई टुक्रा भयो। डायनाको मूर्ति पनि भाँचिएको थियो र भग्नावशेषको थुप्रोमा फेला परेको थियो।’

RMS Titanic सँग टाइटानिकलाई बचाउने अधिकार छ र भग्नावशेष स्थलबाट वस्तुहरू पुनःप्राप्त गर्न कानूनी रूपमा अनुमति दिइएको एक मात्र कम्पनी हो ।

पछिल्ला केही वर्षमा कम्पनीले जहाज भत्किएका हजारौं पार्टपुर्जाहरू बरामद गरेको छ । यी मध्ये केही भागहरू संसारमा पनि प्रदर्शन गरिएको थियो । अर्को वर्ष फेरि त्यहाँ गएर अरु केही भाग निकाल्ने उनको योजना छ ।

डायनाको मूर्ति यी मध्ये एक हो, जुन उनीहरू फिर्ता ल्याउन चाहन्छन् । तर, कतिपयले भग्नावशेष चिहानजस्तै हो र त्यहीँ छोड्नुपर्छ भन्ने विश्वास गर्छन्।

‘डायनाको मूर्तिको पुन: प्राप्ति टाइटानिकलाई अक्षुण्ण छोड्नको लागि बलियो तर्क हो,’ पेन्का भन्छन् ।

जेम्स पेन्का भन्छन्, ‘यो मूर्तिलाई हेर्न र प्रशंसा गर्ने उद्देश्यले निर्माण गरिएको थियो र अहिले यो सुन्दर समुद्रको फेदमा रहेको छ । यो ११२ वर्षदेखि समुद्रको गहिराइमा डुबेको छ ।’

‘डायनालाई फिर्ता ल्याउनुपर्छ ताकि मानिसहरूले यसलाई आफ्नै आँखाले देख्न सकून् र मानिसहरूले यसको इतिहास, मूल्य, संरक्षण, डाइभिङ र मूर्तिकलाप्रति प्रेम विकास गर्न सकून् ।’

बीबीसीको सहयोगमा


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved