काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘काभा वुमन्स भलिबल नेसन्स् लिग–२०२४’ प्रतियोगितामा सहभागी खेलाडीलाई पुरस्कार वितरण गरेका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार आयोजित कार्यक्रममा सो टोलीका क्याप्टेन अरुणा शाहीसहित १४ खेलाडीलाई जनही तीन लाख रुपैँया, मुख्य प्रशिक्षक जगदीशप्रसाद भट्टलाई दुई लाख रुपैँया, सहायक प्रशिक्षक भरत यादव, व्यवस्थापक निलमसिंह बज्राचार्यलाई र फिजियो लोकेन्द्र कुँवरलाई जनही एक लाख २० हजार रुपैँयाराशीसहित पुरस्कार प्रदान गरिएको हो ।
गत साउन १७ देखि २३ गतेसम्म काठमाडौंमा भएको उक्त खेलमा नेपालले उत्कृष्ट प्रदर्शनसहित दोस्रो स्थान हासिल गरेको थियो ।
मन्त्रिपरिषद्को गत साउन ३१ गतेको निर्णयबाट सहभागी खेलाडी र प्रशिक्षलगायतलाई गरी कूल ४७ लाख ६० हजार पुरस्कार रकम दिने निर्णय गरेको थियो ।
यसअघि प्रधानमन्त्री ओलीले यही भदौ २ गते सहभागी खेलाडी र प्रशिक्षकलगायतसँग भलिबल खेलको विकाससम्बन्धी छलफल गरेका थिए ।

‘हाम्रा खेलाडी छोरीहरुलाई थप सफलता र प्रगतिका लागि उत्साह मिलेको छ भन्ने मैले विश्वास लिएको छु,’ ओलीले भने, ‘यो पुरस्कारमा थप सफलताको शुभकामना जोडिएको छ । खेलाडीलाई निरन्तर अभ्यास र प्रेरणाको वातावरण तथा पूर्वाधारका लागि सरकारले सक्दो प्रयत्न गर्नेछ । तपाईंहरु जहाँ जाँदा पनि जित्छौँ भन्ने उच्च मनोबलका साथ अन्तिम समयसम्म लाग्नुस् ।’
ओलीले आफ्नो पदबहालीका दिन कीर्तिपुर खेल मैदानलाई तीन सय दिनभित्र स्तरोन्नती गर्ने निर्णय गरेको स्मरण गर्दै त्यसको कार्यान्वयन गरिने अवगत गराउँदै दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको राम्रो तयारी गर्न सम्बन्धित निकायलाई आग्रह गरे ।
उनले दशरथ रंगशालाको खेल हुँदा मैदान हिलाम्मे हुनु दुःखद् भएको र सो रंगशालालाई स्तरीयबाहेक अन्य खेलमा दुरुपयोग नगराउन ध्यानाकर्षण गराए ।
Facebook Comment
Comment