काठमाडौं । दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) यु–२० च्याम्पियनपसिप फुटबल प्रतियोगिताको उपाधि भिडन्तमा नेपाल र बङ्गलादेशबीच प्रतिस्पर्धा हुने भएको छ ।
सातदोबाटोस्थित अखिल नेपाल फुटबल सङ्घ (एन्फा) कम्प्लेक्सको खेल मैदानमा हुन लागेको आजको फाइनल भिडन्तमा दुवै टोलीले उपाधि जित्ने लक्ष्यका साथ मैदानमा उत्रने छन् ।
नेपाली राष्ट्रिय यु–२० टोलीका मुख्य प्रशिक्षक उर्जन श्रेष्ठले करिब ४५ दिन एन्फा मुख्यालयमा नै साफ च्याम्पियनसिपका लागि तयारी गरेको हुँदा फाइनल खेल पनि सोही स्थानमा हुने भएकाले आफ्नो टोलीलाई फाइदा पुग्ने बताएका छन् ।
यही भदौ ६ गते भएको समूह चरणको खेलमा नेपालले बङ्गलादेशलाई २–१ गोलअन्तरले पराजित गरेको थियो ।
प्रशिक्षक श्रेष्ठले समूह चरणको जितले केही अर्थ नराख्ने भन्दै फाइनल खेलका लागि आफ्नो टोलीको तयारी अवस्थामा रहेको बताए।
त्यस्तै बङ्गलादेशका मुख्य प्रशिक्षक एकेएम मरुफुल हाकीले नेपाललाई मैदानको फाइदा रहे पनि आफूहरुको मनोबल उच्च रहेको र जितकै लागि खेल्ने प्रतिक्रिया दिएका छन् ।
नेपाल र बङ्गलादेशबीचको फाइनल खेल दिउँसो २ः३० बजेदेखि सुरु हुनेछ ।
Facebook Comment
Comment