सुर्खेत । गत वर्ष १७ कार्तिकमा जाजरकोटको बारेकोट केन्द्रबिन्दु बनाएर गएको भूकम्प प्रभावित क्षेत्रमा जोखिम बढ्दै गएको छ । भूकम्पपछिको जोखिम झनै बढ्दै गए पनि सरकारी निकायले पुनःनिर्माणमा कुनै चासो दिएको छैन ।
भूकम्प गएको १० महिना बित्दा पनि आवास पुनःनिर्माण नहुँदा बर्खा यामसँगै थपिएको विपद्ले यहाँका नागरिकमा झनै समस्या सिर्जना भएको छ ।
आइतबार राति मात्रै जाजरकोटमा नलगाड नगरपालिका–२ माझगाउँका ४२ वर्षीय लालबहादुर परियारको परिवार पहिरोमा पर्यो । परियारको २ तले कच्ची घर गत कात्तिक १७ को भूकम्पका कारण भत्किएको थियो । त्यसपछि उनको ३ जनाको परिवार झन्डै ४ महिना त्रिपालमा बसेर चैत पहिलो साता अस्थायी टहरामा सरेको थियो ।
अविरल वर्षाका कारण गएको पहिरोले अस्थायी टहरा भत्किँदा लालबहादुरसहित पत्नी ३४ वर्षीया मनिषा र २ वर्षका छोराको मृत्यु भएको छ ।
त्यस्तै, रुकुमपश्चिम आठबीसकोट नगरपालिका–१२ झिन्चौरमा पनि गत साउन २ मा अस्थायी टहरामा बस्दै आएका ३ जनाको बाढीमा परी ज्यान गएको थियो भने एक जना अझै बेपत्ता छन् । शेरबहादुर पुनका नातिनीहरू १० वर्षीया हितमाया, ८ वर्षीया धनसा र टहरामा सुत्न आएकी छिमेकी ४ वर्षीया मनिषा सार्कीको मृत्यु भयो ।
अहिले अस्थायी टहरामा रहेका भूकम्पपीडितहरूमा विभिन्न खालका घटनाको जोखिम बढ्दै गएको जाजरकोट बारेकोट गाउँपालिकाका अध्यक्ष वीरबहादुर गिरीले बताए ।
‘अधिकांश भूकम्पपीडितका अस्थायी टहराहरू कान्ला, बारी, खोला किनार र पहिले भत्किएकै घरको आसपासमा बनाइएका छन्,’ उनले भने, ‘एक त पहिले पनि यहाँका बस्तीहरू पहिरोको जोखिममा थिए, त्यसमा पनि भूकम्पपछि जमिन चिराचिरा परेका छन्, त्यसले पहिरोको जोखिम थप बढेको छ ।’
भूकम्पपछिको राहत र अस्थायी आवास निर्माणमा स्थानीय सरकारको महत्त्वपूर्ण भूमिका हुने भए पनि पुनःनिर्माणमा स्थानीय सरकारलाई संघीय सरकारको सहयोगमा ढिलाई भएको अध्यक्ष गिरीले बताए । ‘अहिले हाम्रो कुनै भूमिका छैन, हात बाधिदिएको छ,’ उनले भने, ‘पुनःनिर्माण र पुनःलाभका लागि संघीय सरकारले अहिले कुनै कार्यबिधि नबनाएका कारणले भूकम्पपीडितलाई थप समस्या भएको छ ।’
दोस्रो किस्ता पाउन सकेनन्
भूकम्पपीडितले अस्थायी आवास निर्माणका लागि पहिलो किस्ताको रु २५ हजार पाए पनि दोस्रो किस्ताको थप २५ हजार रकम पाउन सकेका छैनन् ।
अस्थायी टहरामा बस्दै आएको पीडितहरूले स्थायी संरचना बनाइसक्नुपर्ने भए पनि अस्थायी आवासकै रकम पाउन नसकेको गुनासो गर्दै आएका छन् । बर्खामा निरन्तर भारी वर्षा हुँदा ज्यान जोखिममा राखेर बस्नुपर्ने अवस्था छ ।
ग्रामीण वस्तीमा रहेका भूकम्पपीडितहरूमाथि थप प्राकृतिक विपत्ती परेको विषयलाई न स्थानीय सरकारले ध्यान दिन सकेको छ त न संघीय सरकारले नै । विभिन्न प्राविधिक कारण देखाएर जनतालाई दिने भनिएको दोस्रो किस्ताको रकमसमेत उपलब्ध हुन सकेको छैन ।
लाभग्राहीको भत्किएको घर र अस्थायी आवासको फोटोसहितको विवरण विपद् पोर्टलमा भर्नुपर्ने कार्यविधी भएको र त्यो समयमै भर्न नसक्दा दोस्रो किस्ताको रकम पाउन नसकेको यद्यपी सबै प्रक्रिया पूरा गरेको भेरी नगरपालिकाका प्रमुख सिपी घर्तीले दाबी गरे ।
‘हामीले सबै प्रक्रिया पूरा गरेका छौँ तर, हामीले लाभग्राहीले पाउने द्रोस्रो किस्ताको रकम आउन सकेका छैनौँ,’ उनले भने, ‘यो हाम्रो स्थानीय सरकारको समस्याभन्दा पनि सङ्घीय सरकारको ढिलाईका कारणले भएको हो ।’
जाजरकोटमा ३४ हजार नौ ५४ भूकम्प प्रभावित परिवार अस्थायी आवासमा बस्दै आएका छन् । विपत् व्यवस्थापन समिति जाजरकोटका अनुसार ४० हजार सात सय १७ लाभग्राहीमध्ये ३४ हजार नौ सय ५४ घरपरिवार अस्थायी आवासमा बस्दै आएका हुन् । स्थानीय तहबाट छनोट भएका लाभग्राहीमध्ये पाँच हजार सात सय ६३ ले अस्थायी आवास निर्माण गरेका छैनन् ।
भेरी नगरपालिकामा चार हजार सात सय २९, नलगाड नगरपालिकामा सात हजार पाँच सय १७ र छेडागाड नगरपालिकाका आठ हजार २४ परिवार अस्थायी टहरामा छन् । यस्तै, बारेकोट गाउँपालिकामा पाँच हजार तीन सय ७२, कुशे गाउँपालिकाका तीन हजार आठ सय १५, जुनीचाँदे गाउँपालिकाका तीन हजार ७२ र शिवालय गाउँपालिकामा दुई हजार चार सय २५ घरपरिवार पनि अस्थायी आवासमा छन् ।
भूकम्प प्रभावित जाजरकोट, रुकुमपश्चिम, सल्यान, बाजुरा र बझाङ्ग जिल्लामा नौ हजार एक सय ३७ अस्थायी आवास निर्माण गर्न बाँकी र ३६ हजार १७ अस्थायी आवास निर्माण भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । जसमा रु दुई अर्व २६ करोड रकम खर्च भइसकेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।
भूकम्पपछि बाढीपहिरो जोखिम
पहिरोको उच्च जोखिममा रहेका जाजरकोटका ५८ घरपरिवारलाई सुरक्षित स्थानमा सारिएको छ । जाजरकोट प्रशासनका अनुसार जुनीचाँदे गाउँपालिका–३ स्याँलाका १२, भेरी नगरपालिका–१ र ३ का १६ तथा छेडागाड नगरपालिकाका ३० परिवारलाई सुरक्षित स्थानमा टहरा बनाएर सारिएको जनाएको छ ।
वर्षाका कारण गाउँभन्दा माथिको भिरालो भागबाट पहिरो खस्न थालेपछि सुरक्षित स्थानमा त्रिपाल टाँगेर टहरा बनाइएको जाजरकोटका प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले बताए । ‘छेडागाडको सागाचौर, लिबाल, डेटकुले, बारेकोटको तोलखाना, लैखम, भेरी नगरपालिकास्थित चौर, चौपानी, मैदे, शिवालयस्थित दुनगारा, लुपपाखा, भिउस, नलगाडको चिउरी, पालीलगायतका बस्ती पहिरोको उच्च जोखिममा छन्,’ उनले भने ।
रुकुम पश्चिमको आठबीसकोट नगरपालिकाको–११, १२ र १३ मा पनि बाढीले ९८ भूकम्पपीडित परिवार विस्थापित भएको नगर प्रमुख रवि केसीले बताए । ‘एक हजार पाँच ५७ घरपरिवार बाढी र पहिरोको उच्च जोखिममा छन्,’ उनले भने, ‘भूकम्पछि बाढीपहिरोको जोखिम निकै बढ्दै गएको छ ।’
यस्तै तरिकाले पुनःनिर्माण हुन्न : नगरप्रमुख घर्ती
अस्थायी टहरामा बस्दै आएको भूकम्पपीडितको अवस्था पछिल्लो समय झन् नाजुक बन्दै गएको छ । विगतमा चिसोमा अस्थायी टहरामा बस्न बाध्य भएका भूकम्पपीडित अहिले बाढीपहिरोका कारणले निधाउन ग्राहो रहेको छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पुनःनिर्माणको कार्यविधि बनाएर निर्माण थाल्नुपर्ने हो । तर, अहिलेसम्म पनि कार्यविधि बनाउन सकेको छैन । यस्तो अवस्थामा पुनःनिर्माण अझै ढिलो हुने देखिएको नगरपालिका प्रमुख घर्तीले बताए । उनले भने, ‘भूकम्प गएको १० महिनासम्म पनि अस्थायी आवासको द्रोस्रो किस्ता पाउन नसकेको अवस्थामा पुनःनिर्माण धेरै परको कुरा भएको छ ।’
यस्तो अवस्थामा पुनःनिर्माणका काम हुन नसक्ने भन्दै नगरपालिकाका प्रमुख घर्तीले दोस्रो किस्ताका लागि आफूले पहल गर्ने विश्वास दिलाए ।
Facebook Comment
Comment