काठमाडौं । “६२ वर्षको उमेरमा मेरा सबै सपना चकनाचुर भएका छन् । हामी दोषीलाई कडाभन्दा कडा सजाय चाहन्छौँ, ” मृतक डाक्टरकी बुवाको माग छ ।
छोरीको डरलाग्दो हत्यापछि उनीहरूको सामान्य देखिने घर मिडियाको केन्द्रमा छ । यस रिपोर्टबाट पीडित परिवारका सदस्यको नाम हटाइएको छ । भारतीय कानूनअनुसार बलात्कार पीडित वा परिवारको पहिचान सार्वजनिक गर्न निषेध गरिएको छ ।
पीडितका बुवा भन्छन्, “हाम्रो राज्य, हाम्रो देश र सारा संसारले पनि न्याय मागिरहेको छ ।” पीडितकी आमा आफ्नो श्रीमान्को पछाडि चुपचाप बसिरहेकी छिन् ।
९ अगष्टको रात कोलकाताको आरजी कार मेडिकल कलेजमा एक प्रशिक्षार्थी डाक्टरको बलात्कारपछि हत्या भएको थियो । अस्पतालभित्रको सेमिनार हलमा बलात्कार र हत्या भएको थियो ।
घटना हुनुअघि राति करिब ११ बजे ती डाक्टरले बुवाआमासँग फोनमा कुरा गरेकी थिइन् । आमा आफ्नी छोरीको अन्तिम शब्दहरू सम्झन्छिन्, “बाबालाई औषधि समयमै दिनुहोस् । मेरो चिन्ता गर्नुपर्दैन ।”
आमाले थप भनिन्, “त्यो नै हाम्रो अन्तिम पटक कुरा गरेका थियौँ ।” पीडितका बाबुलाई उच्च रक्तचापको समस्या छ । उनलाई समयमै औषधि आवश्यक पर्दछ ।
पीडितका बुवा भन्छन्, “उनी (छोरी) सधैँ भन्थिन्- कुनै पनि औषधि लिन नबिर्सिनू ।” “औषधि सकिएपछि भोलिपल्ट किन्ने विचार गरेँ । तर, छोरीले यसबारे थाहा पाइन् । रातको १० वा ११ बजिसकेको थियो । औषधि नआएसम्म कसैले खाना नखाने उनले बताइन् । मेरी छोरी यस्तै थिइन् । मलाई कहिल्यै कुनै कुराको चिन्ता थिएन,” उनले सम्झिइन् ।
कोलकातामा भएको यो बलात्कारले सन् २०१२ को दिल्लीमा भएको सामूहिक बलात्कारको सम्झनालाई ताजा गरेको छ, यो घटनापछि भारतमा महिला सुरक्षाबारे बहससमेत प्रारम्भ भएको छ । जब एक २२ वर्षीया युवतीलाई चलिरहेको बसमा सामूहिक बलात्कार गरिएको थियो । यस क्रममा पीडितको शरीरमा घाउ यति गहिरो थियो कि उनी बाँच्न सकिनन् ।
बढ्दो दुर्व्यहार
दिल्लीमा भएको यो सामूहिक बलात्कारपछि यौन उत्पीडनविरूद्धको कानून कडा बनाइएको थियो । तर, महिला विरुद्धको यौन दुर्व्यहारको दर्ता मुद्दामा वृद्धि भएको छ र न्याय पाउन अझै पनि भारतीय महिलाका लागि चुनौती बनेको छ ।
कोलकाता बलात्कार र हत्या प्रकरणपछि स्वास्थ्यकर्मीले सामना गर्ने चुनौतीप्रति सबैको ध्यान फेरि एक पटक तानिएको छ । कार्यस्थलमा विशेषगरी महिलाको सुरक्षाका लागि निष्पक्ष छानबिन गरी कानून बनाउनुपर्ने स्वास्थ्यकर्मीको माग छ ।
केन्द्रीय स्वास्थ्यमन्त्री जेपी नड्डाले स्वास्थ्यकर्मीलाई काम गर्ने ठाउँमा राम्रो सुरक्षा वातावरण बनाउन कडा कदम चालिने आश्वासन दिएका छन् ।
राष्ट्रिय चिकित्सा आयोगले कार्यस्थललाई सुरक्षित बनाउन सम्बन्धित सबै मेडिकल कलेज र संस्थानलाई सूचना जारी गरेको छ । कोलकातामा मात्रै नभई भारतका अन्य सहरमा पनि यो बलात्कार प्रकरणलाई लिएर विरोध प्रदर्शन भइरहेको छ ।
प्रहरी संरक्षण र पीडित परिवार
पीडित परिवारको घर जाने बाटोमा एकातिर प्रहरी ब्यारिकेड, दर्जनौं क्यामेरा र कैयन् न्यूज च्यानलका रिपोर्टरले पल-पल रेकर्ड गरिरहेका छन् । अर्कोतिर सेतो पोशाकमा १० देखि १५ जना प्रहरी तैनाथ छन् ।
यी प्रहरीको एउटै उद्देश्य भनेको ब्यारिकेड पछाडिबाट क्यामेराले तस्वीर खिच्न नपरोस् भन्ने हो । पीडितको घर यो ब्यारिकेड पछाडि छ ।
अगष्ट ९ गते राति ३६ घण्टाको नाइट सिफ्ट सकेर जुनियर डाक्टर सेमिनार हलमा आराम गर्न गएकी थिइन् । भोलिपल्ट बिहान उनी मृत फेला परिन् ।
अपराधको यो घटनापछि न्यायको माग गर्दै कोलकातालगायत अन्य धेरै सहरमा प्रदर्शन भएको थियो । कोलकातामा रिक्लेम द नाइट मार्च निकालिएको थियो र देशभरका करोडौं महिलाको सुरक्षाको माग गरिएको थियो ।
बुवाको प्रश्न
पीडितका बुवा भन्छन्, “अस्पताल नै त्यही हो, जहाँ ड्यूटीमा छोरीमाथि यस्तो निर्दयी कार्य गरियो ।”
छोरी गुमाएपछि यो परिवार स्तब्ध छ । छोरीको बारेमा बुवा भन्छन्, “उनको बिहे लगभग तय भइसकेको थियो तर, भन्थिन्- पापा, पैसा कहाँबाट ल्याउने ? चिन्ता नगर्नुहोस्, म यसको ख्याल राख्छु ।”
यसो भनिरहँदा पछाडिबाट उनकी श्रीमती रोएको आवाज निरन्तर सुनिन थाल्यो ।
यदि तपाईं यस घरको बैठक कोठाको छेउमा सिँढीहरू माथि जानुहुन्छ भने त्यहाँ पीडितको कोठा छ । विगत ११ दिनदेखि यो कोठाको ढोका खुलेको छैन । अगष्ट १० गतेदेखि यी अभिभावकहरू छोरीको कोठामा पसेका छैनन् ।
बुवा भन्छन्, “उनी सानै छँदा हामीले आर्थिक चुनौती सामना गर्यौँ । त्यतिबेला उनी पाँच वर्षकी थिइन् । उसलाई फलफूल, विशेषगरी अनार मन पर्थ्यो । एकपटक हामी बाहिर गएपछि उनले भनिन्- पापा, पुजामा अनार लैजानुहुन्न ? उसले आफ्नो लागि कहिल्यै केही मागिनन्… ।”
आफ्नो वाक्य पूरा गर्नुअघि नै उसको आँखाबाट आँसु बग्यो ।
त्यहाँ उपस्थित एक आफन्तले उनलाई सान्त्वना दिए र भने, “आफ्नो ख्याल राख्नुहोस् ।”
बलियो रहनको बोझ
अब बलियो रहने भार बुवाको काँधमा छ । पीडित उनकी एक्ली छोरी थिइन्, जसलाई सानैदेखि पढ्ने मन थियो ।
विद्यालयमा शिक्षकले सधैँ मेरो प्रशंसा गर्थे । बुवा भन्छन्, “उनी सानो छँदा शिक्षकले उनलाई ग्रहण गर्थे । हामी निम्न मध्यमवर्गीय परिवारका हौँ र सबै कुरा आफ्नै बलमा बनाएका छौँ । मानिसले भन्थे छोरीलाई डाक्टर बनाउन सकिँदैन । तर, मेरी छोरीले सबैलाई गलत साबित गरि सरकारी मेडिकल कलेजमा भर्ना भइन् ।”
यस कुराकानीका क्रममा पीडितकी आमाले सबै कुरा चुपचाप सुनिरहेकी थिइन् । हातका चुराहरूलाई छोइरहिन् । उनले यी चुरा छोरीले किनिदिएकी थिइन् ।
पीडितकी आमा भन्छिन्, “छोरीले मेडिकलमा स्वर्णपदक जित्न चाहेको लेखेकी थिइन् । उनी राम्रो जीवन बिताउन र हाम्रो हेरचाह गर्न चाहन्थिन् ।”
घटनाको रात
आमाबुवासँग कुरा गरेपछि उनी अस्पतालभित्र मेडिकल राउन्डमा गइन् ।
राति २ बजे उनले मेडिकल राउन्डपछि विश्राम लिइन् । अनि चारजना सहकर्मीसँग डिनर गर्न बसिन् । कलेजको पल्मोनोलोजी विभागको तेस्रो तल्लामा रहेको सेमिनार हलमा उनीहरूले खाना मगाए ।
सेमिनार हलमा ५० जना बस्न सक्छन् । त्यहाँसम्म पुग्न तेस्रो तल्लाको लिफ्टबाट एक कोरिडोर पार गर्नुपर्छ । सेमिनार हलसम्म जाने बाटोमा सीसीटीभी क्यामेरा भए पनि हलभित्र क्यामेरा छैन । निरज चोपडाको खेल सकिएपछि अरू सबै सेमिनार हलबाट निस्कन्छन् तर, उनी थाकेकाले त्यहीँ निदाउँछिन् । उनी निरन्तर ३६ घण्टाको ड्यूटी सिफ्टबाट विश्रामका लागि आएकी थिइन् ।
राति ३ बजे उनलाई एक इन्टरर्नले रिपोर्ट देखाउन जगाउँछन् । रिपोर्ट हेरेर उनी फेरि निदाउँछिन् । यो नै अन्तिमपल्ट थियो, जहाँ उनलाई कसैले जिउँदो देखेको थियो ।
भोलिपल्ट
भोलिपल्ट बिहान ७ः३० बजे ३१ वर्षीया पोस्ट ग्र्याजुएट छात्रा मृत अवस्थामा भेटिइन् । बिहान १०ः५३ मा अस्पतालका असिस्टेन्ट सुपरिटेन्डेन्टले युवतीका अभिभावकलाई ‘तपाईंकी छोरीको स्वास्थ्य नाजुक छ’ भन्दै फोन गरेर अस्पताल बोलाउँछन् ।
बिहान ११ः०५ मा फेरि तिनै व्यक्तिले फोन गरेर भन्छन्, “तपाईंकी छोरीले आत्महत्या गरिन् ।” पीडितका बुवाका अनुसार, अस्पताल पुगेपछि समेत छोरीलाई हेर्न तीन घण्टा कुराइयो । अनुमति दिएपछि पनि बुवालाई भनियो, “तपाईं गएर एउटा फोटो लिन सक्नुहुन्छ, त्यसपछि तपाईं तुरून्तै बाहिर आउनुहोला ।”
बुवाका लागि छोरीको अवस्था हेरिनसक्नुको थियो । त्यहाँ उनले भने, “मेरी छोरीको बलात्कारपछि हत्या भएको हो । ऊ त गइहाली, जसलाई हामी फर्काउन सक्दैनौँ तर, हामीलाई न्याय चाहिन्छ ।”
घटना बाहिर आएपछि कोलकाता प्रहरी अनुसन्धानका लागि अस्पतालमा पुग्यो । पश्चिम बंगालकी मुख्यमन्त्री ममता बेनर्जीले पनि पीडित परिवारलाई फोन गरेर न्याय दिलाउने वाचा गरिन् । अस्पताल क्षेत्रमा आन्दोलन सुरु भयो । प्रदर्शनकारीले छानबिनको माग गरे । बिस्तारै देशभरका मेडिकल कलेजमा आन्दोलन सुरु भयो ।
९ अगष्टमा पहिला प्रहरी घटनास्थलमा पुगेर फरेन्सिक जाँच गर्दा युवतीको मृत्युलाई अप्राकृतिक भनियो । तर, परिवारको जाहेरीसँगै यसलाई बलात्कारपछि हत्या मुद्दामा परिवर्तित गरियो ।
त्यसपछि प्रहरीले अस्पतालका सबै सीसीटीभी फुटेज चेक गर्यो । अनुसन्धान सुरु भयो । त्यो रात ५ जना रात्रि ड्यूटीमा थिए । ती सबैलाई छुट्टाछुट्टै राखेर सोधपुछ गरियो । सबैको जवाफ उस्तै खालको आएपछि उनीहरू प्रहरीको निगरानीमा रहेनन् ।
सीसीटीभीलाई फेरि नियाल्ने क्रममा प्रहरीको नजर एक व्यक्तिमाथि पर्यो । हाफ पाइन्ट र टिसर्ट लगाएका ती व्यक्ति बिहान ४ बजे सेमिनार हलबाहिर घुमिरहेका देखिन्छन् । उनको घाँटीमा ब्लुटुथ एयरफोन देखियो ।
प्रहरीले ती व्यक्तिबारे पत्ता लगायो । उनी सञ्जय रोय नामका युवक थिए । फोन ट्र्याक गरेर उनलाई एक प्रहरी स्टेसननजिकैबाट पक्राउ गरियो ।
अनुसन्धान गर्दै जाँदा घटनास्थलमा ब्लुटुथ एयरफोन भेटियो । प्रहरीले सञ्जयलाई सोध्यो, ‘सीसीटीभीमा तिम्रो घाँटीमा ब्लुटुथ देखिएको छ, त्यो खै ?’ सञ्जयले हराएको बताए ।
प्रहरीले सञ्जयको मोबाइलको ब्लुटुथ अन गर्दा त्यो आफैँ घटनास्थलमा फेला पारेको ब्लुटुथसँग कनेक्ट भयो । यसपछि प्रहरी रेकर्डमा सञ्जय मुख्य आरोपितमा सूचीकृत भए । त्यसपछि उनीमाथि अनुसन्धान सुरु भयो ।
घटना भएको रात पहिलोपल्ट सञ्जय हस्पिटलमा छिर्दा उनले रक्सी खाएको प्रहरी अनुसन्धानमा खुलेको छ । राति ११ बजे रक्सी पिउनका लागि उनी हस्पिटलबाट बाहिर निस्केका थिए । र, बिहान ४ बजे हस्पिटल फर्किएका थिए ।
कोलकाता प्रहरीका अनुसार सञ्जयले अपराध स्वीकारिसकेका छन् । अफिसियल फरेन्सिक रिपोर्ट अहिलेसम्म सार्वजनिक गरिएको छैन ।
सन् २०१९ मा सञ्जयले कोलकाता प्रहरीको विपद् व्यवस्थापन समूहमा नागरिक स्वयम्सेवकका रूपमा काम गरेका थिए । नागरिक स्वयंसेवक भनेका ती व्यक्ति हुन्, जसले प्रहरीलाई ट्राफिक व्यवस्थापन वा विपद् व्यवस्थापनमा सहयोग गर्छन् ।
निश्चित समयका लागि नियुक्त गरिएका उनीहरूलाई सरकारले मासिक १२ हजार रूपैयाँ दिन्छ । उनीहरू आधिकारिक प्रहरी होइनन् ।
डाक्टरहरूको विरोध
आरजी कार मेडिकल कलेज पश्चिम बंगालको सबैभन्दा ठूलो अस्पताल हो ।
२६ एकडमा फैलिएको यस अस्पतालमा बिरामी भर्ना गर्न १२ सय शय्या छ भने ओपीडीमा दैनिक औसत २५ सय बिरामी आउँछन् । यसबाहेक आपत्कालीन विभागमा पनि दैनिक एक हजारभन्दा बढी बिरामी आउने गरेका छन् ।
यो ठूलो अस्पतालमा महिला डाक्टरसँग भएको घटनापछि देशभरका अस्पतालका चिकित्सक स्तब्ध भएका छन् ।
आवासीय चिकित्सक महासङ्घले सोमबार देशभरका अत्यावश्यक बाहेकका स्वास्थ्य सेवा बन्द गर्ने घोषणा गरेको छ । दिल्लीका सरकारी अस्पतालहरूले पनि अनिश्चितकालीन हड्तालको घोषणा गरेका छन् ।
धेरै अस्पतालले जारी गरेको विज्ञप्तीमा सोमबारदेखि ओपीडी, अपरेशन थिएटर र वार्ड ड्यूटी बन्द हुने जानकारी दिइएको छ । आन्दोलनकारीले स्वास्थ्यकर्मीको सुरक्षा र पीडितलाई न्यायको माग गरेका छन् ।
-बीबीसी हिन्दी र अमर उजालाको सहयोगमा
Facebook Comment
Comment