काठमाडौं । ट्रेकिङ एजेन्सीज एसोसिएसन अफ नेपाल (टान)को २०२४ निर्वाचनका लागि पर्यटन व्यवसायी राजेन्द्रप्रसाद सापकोटा समूहको प्यानल र घोषणापत्र सार्वजनिक गरिएको छ ।
सापकोटा समूहमा अध्यक्षमा सापकोटासहित कर्मा शेर्पा वरिष्ठ उपाध्यक्ष, विष्णु प्रसाद लम्साल प्रथम उपाध्यक्ष, सनम शेर्पा द्वितीय उपाध्यक्ष, राजेन्द्र प्रसाद सुवेदी महासचिव सहित १७ जनाको उम्मेदवारी सार्वजनिक गरिएको हो ।
घोषणापत्रमा पदमार्गहरूको संरक्षण र विकासलाई केन्द्रमा राखिएको छ । पदयात्रा व्यवसायको दीर्घकालीन अस्तित्वका लागि हाल कायम रहेका पदमार्गहरूको संरक्षण र नयाँ पदमार्गहरूको निर्माणलाई राष्ट्रिय महत्वको प्राथमिकतामा राख्ने उल्लेख छ ।
पदयात्रा पर्यटनलाई माध्यमिक शिक्षादेखि नै अध्ययनको विषय बनाउने र यसबाट स्वदेशमै रोजगारीको अवसर बढाउने योजना पनि अघि सारिएको छ । पदयात्रासम्बन्धी अनुमतिपत्रहरूमा लगाइएको १३ प्रतिशत भ्याट फिर्ता गर्न र यसलाई अब लागू नगर्नका लागि सशक्त आवाज उठाउने प्रतिबद्धता गरिएको छ ।
टिम्स कार्डबाट भएको आम्दानीलाई पर्वतीय पर्यटन श्रमिकहरूको सामाजिक सुरक्षा, पदमार्गहरूको स्तरोन्नति, र पोर्टर सेल्टरहरूको निर्माणमा खर्च गर्ने योजना घोषणापत्रमा समावेश गरिएको छ ।
टानको सचिवालयलाई पूर्ण रूपमा डिजिटल प्रणालीमा रूपान्तरण गर्दै, व्यवसायीहरू र श्रमिकहरूको हितमा उच्च समझदारी कायम राख्ने, र पर्यटन क्षेत्रमैत्री वातावरण निर्माण गर्न कदम चाल्ने प्रतिबद्धता व्यक्त गरिएको छ ।
साथै, रामेछाप एयरपोर्टको स्तरोन्नति र यसलाई पर्वतीय पर्यटनको वैकल्पिक केन्द्रको रूपमा विकास गर्न सरकारसँग छलफल र सहकार्य गर्ने योजना पनि घोषणापत्रमा समावेश गरिएको छ ।
टानलाई आर्थिक रूपमा सबल बनाउन र पारदर्शितालाई प्राथमिकता दिँदै व्यवसायीहरूको व्यापक सहभागितालाई सुनिश्चित गर्न जोड दिइएको छ ।
Facebook Comment
Comment